११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

बँदेल मार्न थापिएको पासोमा परे रोशनी–शरद, पासो थाप्ने र शव लुकाउने चार जना पक्राउ



दाङ तुलसीपुर उपमहानगरपालिका–१३ स्थित जनकल्यान सामुदायिक वनमा मृत फेला परेका किशोरकिशोरीको मृत्यु बँदेल मार्न थापिएको पासोमा परेर भएको खुलेको छ । पासो थाप्ने तथा शव लुकाउने कार्यमा संगल्न भएको आरोपमा प्रहरीले चारजनालाई सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरमा सोमवार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न रहेको भन्दै उनीहरूलाई सार्वजनिक गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिका–१३ डाँडागाउँस्थित १५ वर्षीया रोशनी महतारा र दङ्गीशरण गाउँपालिका–६ थपगाउँ घर भई तुलसीपुर–१३ दमारगाउँस्थित मामाघर बस्दै आएका १४ वर्षीय शरद आचार्यको हत्यामा संलग्न भएको भन्दै तुलसीपुर–१३ निवासी ३९ वर्षीय गणेश भन्ने हरिशचन्द्र पौडेल, सोही ठाउँका २८ वर्षीय नुमानन्द कार्की, ३१ वर्षीय खिमबहादुर बुढा र ४७ वर्षीय प्रकाश भन्ने अम्मरराज कार्कीलाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक वीरबहादुर वलीका अनुसार बँदेल मार्नका लागि थापेको विद्युतको पासोमा परेर उनीहरु दुवै जनाको मृत्यु भएको हो । असोज २७ गते राति १० बजेतिर गणेश भन्ने हरिषचन्द्र पौडेलको घरबाट विद्युत् लिएर नजिकैको जङ्गलमा बँदेल मार्नका लागि पासो थापेको र त्यही पासोमा परेर उनीहरुको राति नै मृत्यु भएको प्रहरीले बताएको छ ।

पासो थापेका अमरराज कार्की र गणेश भन्ने हरिशचन्द्र पौडल असोज २८ गते बिहान साढे ५ बजेतिर हेर्न जाँदा दुवै जना मृतावस्थामा फेला पारेका थिए । त्यसपछि उनीहरु दुवैले सल्लाह गरेर शवलाई जङ्गलको झाडीमा फाले । उनीहरुसँग भएका मोबाइल र चप्पललाई समेत जङ्गलको झाडीमा लुकाईछिपाई राखे । सोही दिन राति १० बजेतिर अमरराज कार्की, पौडेलसहित खिमबहादुर बुढा र नुमानन्द कार्कीले ती शवलाई गाड्ने सहमति गरे । त्यो सहमतिपछि अमरराज कार्कीको घरबाट फोरुवा ल्याएर उनीहरुले करेन्ट लागेदेखि नजिकैको खोल्सोमा गाडेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरीक्षक वलीले बताए।

उनका अनुसार अभियुक्त चारजनाले लुकाईछिपाई राखेको अवस्थामा करेन्ट लगाउन प्रयोग भएको बिजुलीको वाइरिङ तार ७६ मिटर एक इन्च, साना सातवटा बाँस, फलामको वाइरिङ तार, किल्ला खन्न प्रयोग भएको फोरुवा एक थान, शव बोक्न प्रयोग भएको कुखुराको दाना राख्ने बोरा बरामद भएको प्रहरीले बताएको छ । बोरा जलेर नष्ट भएको अवस्थामा भेटिएको थियो । उनीहरु चारैजनालाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ । रोशनी र शरदको शव गत असोज ३० गते दिउँसो भेटिएको थियो । उनीहरु घरबाट असोज २७ गते हराएका थिए । मृतक दुवै जना त्यो वनमा किन गएका थिए भन्ने कुरा अनुसन्धानकै विषय रहेको प्रहरी उपरीक्षक वलीले बताए ।

घटना घट्नासाथ प्रहरीले एक टिपर चालकलाई पक्राउ गरेको थियो । ती टिपर चालककै बयानका आधारमा थप अर्का व्यक्ति पनि पक्राउ परे । तर ती दुवै जना निर्दोष देखिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार एक टिपर चालकले आफूले हत्या गरेको स्वीकार गरेका थिए । तर अनुसन्धान गर्दै जाँदा उनीहरु दुवैजनाले हत्या गरेको पुष्टि भएन । प्रहरीले शवपरीक्षण रिपोर्टलगायत अन्य रिपोर्ट र विज्ञको अनुसन्धानबाट निर्दोष देखिए । उनीहरु निर्दोष देखिए पनि प्रहरीको हिरासतमै छन् । उनीहरुलाई अन्य विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताएका छन् ।

यो विषयमा अनुसन्धान लुम्बिनी प्रदेश प्रहरी, जिल्ला प्रहरी तथा इप्रका तुलसीपुरको अनुसन्धान टोली खटिएको थियो भने काठमाडौँबाट विज्ञ टोली तथा कोहलपुरबाट कुकुरसमेत ल्याइएको थियो । उनीहरु दुवैजनाको शवपरीक्षणपछि एकै स्थानमा बबईमा अन्त्येष्टि गरिएको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  २ : २३ बजे