काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका गगनकुमार थापा विजयी भएका छन् । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार ४५ हजार नौ सय २९ मत खसेकामा २१ हजार तीन सय दुई मत प्राप्त गर्दै उनी विजयी भएका हुन् ।
थापाका निकटतम प्रतिद्वन्द्व नेपाल कम्युनिष्ट पार्टी (एमाले)का राजन भट्टराईले १३ हजार आठ सय ५५ मत प्राप्त गरे ।
उनको यो उक्त क्षेत्रबाट चौथो जित हो । संविधानसभा सदस्य निर्वाचन २०६४ मा कांग्रेसका तर्फबाट समानुपातिक सदस्यमा निर्वाचित महामन्त्री थापा संविधानसभा सदस्य निर्वाचन २०७० मा काठमाडौं ४ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए भने प्रतिनिधिसभा सदस्यमा २०७४ मा काठमाडौं-४ बाटै निर्वाचित भएका थिए । उनी यसअघि २०७३ सालमा स्वास्थ्यमन्त्रीसमेत भएका थिए ।
२०४६ सालको जनआन्दोलनमा विद्यार्थी अवस्थामै राजनीतिमा सक्रिय सहभागिता जनाएका उनी २०५१ सालमा नेविसंघ त्रिचन्द्र क्याम्पसको स्ववियु सदस्यमा निर्वाचित भएका थिए । त्रिचन्द्र क्याम्पसमा २०५३ सालमा स्ववियु सचिव र २०५५ मा सभापतिमा निर्वाचित भएका थापा त्रिभुवन विश्वविद्यालय सिनेट सदस्यसमेत रहेका थिए ।
२०५७ मा नेविसंघ केन्द्रीय उपाध्यक्ष बन्दै २०५९ सालमा नेविसंघको महामन्त्रीको पद सम्हाले थापा २०६८ मा कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । २०७२ सालमा कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत भएका उनी हाल कांग्रेस महामन्त्रीको रुपमा रहेका छन् ।