सप्तरी क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउत फराकिलो मतान्तरले विजयी भएका छन् ।
मतगणनामा सुरुआतदेखि नै अग्रता लिनुभएका राउतले ३५ हजार ४२ मत प्राप्त गरी १८ हजार ६३ मतान्तरले विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ । निकटतम प्रतिद्वन्द्वी जसपाका अध्यक्ष उपेन्द्र यादवले १६ हजार नौ सय ७९ मत ल्याए ।
सत्ता गठबन्धनको समर्थनमा उम्मेदवार बनेका लोसपाका जयप्रकाश ठाकुरले सात हजार तीन सय ४७ मत प्राप्त गरे । सप्तरी–२ मा ६७ दशमलव ९७ प्रतिशत अर्थात् ६४ हजार पाँच सय ६० मतदान भएको थियो । जसमा ६० हजार नौ सय २१ मत सदर भएको छ भने तीन हजार दुई सय ९८ मत बदर भएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए ।
गत निर्वाचनमा यादवले यसै क्षेत्रबाट २१ हजार सात सय २० मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । सप्तरी–२ को दुवै प्रदेशसभा सदस्यमासमेत जनमत पार्टीका सतिशकुमार सिंह र महेशप्रसाद यादव विजयी भएका छन् ।