२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

सात दल मात्र राष्ट्रिय दल



प्रतिनिधिसभा समानुपातिकतर्फको मत गणना सकिएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिक तर्फको कूल सदर मतको संख्या १ करोड ५ लाख ६० हजार ८२ रहेको छ । मंगलबार साँझ गनेर सकिएको हो ।

प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीमा कूल ४७ दल सहभागी भएकामा ७ दलले मात्र ३ प्रतिशतको थ्रेसहोल्ड कटाएका छन् ।

आयोगका अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले थ्रेसहोल्ड पार गरेका हुन्।

समानुपातिक सांसद चुन्न पाएसँगै ती पार्टीले राष्ट्रिय दलको मान्यता पनि पाएका छन् । राष्ट्रिय दल बन्न प्रतिनिधिसभा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिकको ३ प्रतिशत मत ल्याउनु पर्छ।

गठबन्धनको घटक एमालेबाट फुटेर बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १० सिट जितेर पनि थ्रेसहोल्ड कटाउन सकेन । उसले दुई लाख ९८ हजार ३ सय ९१ समानुपातिक मत पायो ।

नागरिक उन्मुक्ति पार्टीले पनि २ लाख ७१ हजार ७ सय २२ सम्म समानुपातिक मत ल्याएको थियो तर थ्रेसहोल्ड कटाउन सकेन ।

राष्ट्रिय दल बनेका सात दलमध्ये सबैभन्दा धेरै समानुपातिक मत एमालेले ल्याएको छ ।

आयोगको तथ्यांकअनुसार उसले २८ लाख ४५ हजार ६ सय ४१ मत पाएको हो। दोस्रोमा नेपाली कांग्रेसले २७ लाख १५ हजार २ सय २५ तथा तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६ सय ८४ समानुपातिक मत ल्याएको छ।

यसैगरी यही चुनावबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ११ लाख ३० हजार ३ सय ४४ समानुपातिक मत प्राप्त गरेको छ ।

यस्तै राष्ट्रिय दलका मान्यता पाउन सफल राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८ सय ४९, जनता समाजवादी पार्टीले ४ लाख २१ हजार ३ सय १४ र जनमत पार्टीले ३ लाख ९४ हजार ६ सय ५५ समानुपातिक मत प्राप्त गरेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  १२ : १५ बजे