१२ जेष्ठ २०८१, शनिबार | Sat May 25 2024

न्यूयोर्कमा “नेपाली उत्पादन, परिकार तथा पर्यटन प्रवर्द्धनमा गैरआवासीय नेपाली समुदायको भूमिका” विषयक अन्तर्क्रिया



नेपाली महावाणिज्यदूतावास न्यूयोर्कले गैरआवासीय नेपाली संघ, अमेरिका, न्यूयोर्क च्याप्टरसंगको सहकार्य र स्थानीय नेपाली उद्यमी, व्यवसायी तथा संघसंस्था लगायतको सहभागितामा न्यूयोर्कमा “नेपाली उत्पादन, मौलिक परिकार तथा पर्यटन प्रवर्द्धनमा गैरआवासीय नेपाली समुदाय/व्यवसायीको भूमिका” विषयक अन्तर्क्रिया आयोजना गर्यो।

एन.आर.एन.ए- न्यूयोर्क च्याप्टरका तर्फबाट उपाध्यक्ष शोभाकान्त पाण्डेले अतिथिलाई स्वागत गर्दै महत्वपूर्ण विषयको कार्यक्रममा नेपाली महावाणिज्यदूतावाससँग सहकार्य गर्न पाउँदा खुसी लागेको विचार व्यक्त गरे । उनले गैरआवासीय नेपालीको मातृभूमिसँग निकट र भावनात्मक सम्बन्ध रहेको र नेपाल सरकारले देशको आर्थिक सम्बृद्धिका लागि एवम् नेपाली बस्तु निर्यात तथा पर्यटन प्रवर्द्धनका लागि चालेका कदममा गैरआवासीय नेपाली समुदायको साथ र सहयोग रहने प्रतिवद्धता पनि व्यक्त गरे ।

कार्यवाहक महावाणिज्यदूत बिष्णु गौतमले अतिथिलाई स्वागत गर्दै सहभागिताका लागि धन्यबाद दिएका थिए । नेपाल र अमेरिकाबीच रहेको मैत्रीपूर्ण र सुमधुर कूटनीतिक सम्बन्धलाई अझ प्रगाढ पार्न जनस्तर र व्यवसायस्तरका सम्बन्धको महत्वपूर्ण भूमिका हुने विचार राखे । दुईदेशबीचको कूटनीतिक सम्बन्धको पचहत्तरौं बार्षिकोत्सबको प्रसंग उठाउँदै उनले नेपाल र अमेरिकाबीचको व्यापार, पर्यटन, शैक्षिक तथा सांस्कृतिक आदानप्रदान अझ बृद्धिगर्न नेपाली व्यवसायी, शैक्षिक संस्था, नेपालका मित्र अमेरिकी नागरिक, पर्यटक, तथा गैरआवासीय नेपाली समुदायको सञ्जाल निकै प्रभावकारी हुनसक्ने विचार राखे । विदेशमा रहेका नेपाली समुदायले हासिल गरेको ज्ञान, सीप पूंजी, एवम् प्रविधिबाट नेपालले अझबढी लाभ लिन सबैको प्रयास आवश्यक हुने उनले धारणा राखे ।

का.वा. महावाणिज्यदूतले आफ्नो प्रस्तुतीमा नेपाल र अमेरिकाबीचको व्यापारमा दुवै देशलाई लाभ हुनेगरी उच्च बृद्धि संभव रहेको र यसका लागि थप बजारीकरण जरुरी रहेको बताउँदै दुईपक्षीय व्यापारको अवस्था, अमेरिका निर्यात भइरहेका र उच्च संभावना भएका नेपाली बस्तु र ती बस्तुले अमेरिकी बजार प्रवेशमा पाउने सुविधाबारे जानकारी दिए । अमेरिकामा नेपाली परिकार र पर्यटन प्रवर्द्धनमा संलग्न व्यवसायीले खेलेको भूमिकाको प्रसंसा गर्दै उनले बढ्दो नेपाली समुदाय र विस्तारित संजालबाट संख्यात्मक र गुणात्मक दुवै रुपमा नेपालको प्रवर्द्धनमा अझबढी योगदानका लागि नेपाली समुदायलाई आग्रह गरे ।

अमेरिकामा विभिन्न नेपाली बस्तुको आयात, बजारीकरण, विक्रिवितरण, तथा पर्यटन र परिकार प्रवर्द्धनमा सक्रिय सर्वश्री अनिल रौनियार, लिंकन एभरेष्ट, सुमित अग्रवाल, निश्चल बांस्कोटा, दुर्गेशजंग कार्की, मनीष कर्ण र साङ्गदोर्जे शेर्पा गरी ७ जना व्यवसायीद्वारा प्रस्तुतीकरण गरिएको थियो । प्रस्तुतीकरणमा नेपालको प्रवर्द्धनका लागि आ-आफ्ना तर्फबाट भइरहेका प्रयास, अवशर र चुनौती तथा नेपालमा स्थानीय स्तरमा उत्पादित बस्तुदेखी लिएर अन्य बस्तु निर्यातसंजालमा जोड्न, जिएसपी नवीकरण, भंसार सुविधा, बजारीकरण र नेपाली बस्तुको गुणस्तर कायम राख्न नेपाल सरकारको सहयोग आवश्यक रहेको धारणा व्यवसायीले राखे । नेपाली संघसंस्था तथा संचार जगतका सहभागीले विभिन्न सुझावसहित नेपाल सरकारको प्रयासमा आफ्नो सदैव साथ रहने कुरा व्यक्त गरे ।

कार्यक्रमको अन्तमा कार्यवाहक महावाणिज्यदूत र सम्बन्धित व्यवसायीद्वारा उठाइएका जिज्ञासाको जवाफ एवम् जानकारी दिइएको थियो । कार्यक्रमको संचालन र मोडेरेशन वाणिज्यदूत गणेश अधिकारीले गरेका थिए भने कार्यक्रमको अन्त्यमा आमन्त्रित अतिथिका लागि नेपाली परिकारसहितको दिवाभोजको व्यवस्था गरिएको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  १ : ०७ बजे