६ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025

सुम्निमा साँझमा किरण गजमेरको प्रस्तुति



न्यूयोर्क। किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) को बाह्रौं सुम्निमा साँझ कार्यक्रममा ‘भ्वाइस अफ नेपाल’ ३ मा विजेता किरण गजमेरले ‘फ्लोर’ तताउने भएका छन् ।

‘क्रिसमस’ अर्थात् डिसेम्बर २५ मा हुने यो कार्यक्रममा न्यू योर्क निवासी नेपाली समुदायलाई नयाँपन दिन पनि युवा पुस्ताको गायक गजमेरलाई छानिएको केआरएसए न्यूयोर्क च्याप्टरकी अध्यक्ष वाकासा वान्तावले बताइन् । ‘हामीले हरेक वर्ष नेपालबाट स्थापित कलाकार बोलाएर सुम्निमा साँझ आयोजना गर्ने गरेका थियौं,’ उनले भनिन्, ‘यसपटक भने हामीले कोभिड–१९ कारण लामो समय उकुसमुकुस भएर घरभित्रै बसेको नेपाली समुदायलाई नयाँपन दिन नयाँ पुस्ताका गायकलाई बोलाएका हौं।’

गजमेरको यो कार्यक्रम न्यूयोर्कमा पहिलो भने होइन । तर, कोभिडका कारण न्यूयोर्कमा गजमेरको कार्यक्रममा नेपाली समुदायको उल्लेख्य उपस्थिति हुन नसकेकाले उनको माग अझ रहेको आयोजकको बुझाइ छ। सुम्निमा साँझको अर्को आकर्षण किरात राई समुदायको मौलिक सांस्कृतिक नृत्य तथा भेषभुषाको प्रस्तुति रहनेछ। त्यसपछि डिजे जाङ्बूले कार्यक्रमको अन्तसमम फ्लोर तताउने छन्।

सुम्निमा साँझ न्यूयोर्कमा बसोबास गर्ने किरात राई र नेपाली समुदायमाझ लोकप्रिय कार्यक्रम हो। यो कार्यक्रम किरात राई नेपाली नेपाली भाषा, संस्कार, संस्कृति जगेर्ना तथा प्रबद्र्धन गर्ने उदेश्यले सुरु गरिएको केआरएसएका केन्द्रिय अध्यक्ष खगेन्द्र राईले बताए। ‘सुम्निमा साँझ कोभिडको महामारी रहेको सन् २०२० र २०२१ बाहेक सन् २००९ देखि हरेक वर्ष निरन्तर गर्दै आएका छौं,’ उनले भने, ‘हामीले यो कार्यक्रम सुरु गर्दा नेपाली समुदायले दसैं तिहारमा राख्ने भेटघाट कार्यक्रमबाहेक अरु नियमित रुपमा हुने कार्यक्रम थिएन भन्दा पनि हुन्छ।’

किरात राई समुदायको महान चाड साकेला उधौलीको अबसरमा सुम्निमा साँझ आयोजना हुँदै आएको छ। यो कार्यक्रम केआरएसएको न्यू योर्क च्याप्टरले गर्दै आएको छ।

अध्यक्ष वान्तावाले कार्यक्रम ब्यावसायिक बनाउन कलाकार छनौटदेखि खानपान लगायतका विविध पक्षमा ध्यान दिएको बताइन् । ‘किरण गजमेर एउटा एल्बम निकालेको भरमा गायकको पगरि भिरेका कलाकार होइन दर्शकको मन जितेर भ्वाइस अफ नेपाल ३ का विजेता बनेको कलाकार हुनुहुन्छ,’ उनले कार्यक्रमको तयारिबारे उदाहरण दिँदैं भनिन्, ‘उहाँको प्रस्तुतिले पुराना स्थापित कलाकार हेर्दै आएका न्यू योर्कबासीलाई नयाँपनको आभास दिने हाम्रो विश्वास छ।’ उनले आफ्नो नेतृत्वमा ३१ जनाको टोलीले कार्यक्रमको हरेक भाग ‘शर्ट एण्ड स्वीट’ बनाएको पनि बताइन् । ‘कार्यक्रम समयमा सुरु हुन्छ र समयमा सकिन्छ,’ उनले भनिन्, ‘हामी सहभागीलाई कुराउने पक्षमा छैनौं।’

केआरएसएका केन्द्रिय अध्यक्ष खगेन्द्र राईले साकेला रितु परिवर्तन सँग पनि सम्बन्धित भएको बताए । उनले नेपालमा मंसिरे पुर्णिणमा साकेला उधौली र बैशाखे पूर्णिमामा साकेला उभौली मनाइने बताए। ‘अमेरिकामा साकेला उभौली बैशाखे पूर्णिमाकै समय पारेर मनाउँछौं,’ उनले भने, ‘तर, साकेला उधौलीका बेला अमेरिकामा यहाँको ठूलो चाड क्रिसमस पनि पर्ने भएकाले सबैलाई पायक पर्ने हिसावले ब्यबहारिकता मिलाएर यो चाड क्रिसमसमा मनाउन थालिएको देखिन्छ ।’
उनले नयाँ पुस्तालाई आफ्नो संस्कार संस्कृति चिनाउन सिकाउन यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताए। ‘हामीले यस्तै कार्यक्रममार्फत नयाँ पुस्तामा आफ्नो संस्कार संस्कृति हस्तान्तरण गर्ने हो र प्रवासमा आफ्नो मौलिक पहिचान कायम राख्ने हो,’ उनले भने।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ३ : २२ बजे