सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई निष्काशन गरिएको छ । उनी अब १० वर्ष नेपाल आउन पाउने छैनन् । केन्द्रीयकारागारले आजै शोभराजलाई कैदमुक्त गरी अध्यागमनको जिम्मा लगाएको थियो । अध्यागमनले उनलाई कतार एयरवेजमार्फत ृिर्ता पठाएको हो ।
हत्या अभियोगमा करिब २ दशकदेखि नेपालको कारागारमा कैद भुक्तान गरिरहेका शोभराजलाई सरकारले १० वर्ष नेपाल प्रवेश गर्ननपाउने गरी निष्कासन गरेको हो ।
उनी शुक्रबार साँझ ६ बजे उडान तालिका रहेको कतार एयरवेजको उडान क्युआर ६४७ मार्फत कतार हुँदै फ्रान्स पठाईएका छन् ।
अध्यागमन विभागको सिफारिसमा गृह मन्त्रालयले शुक्रबार शोभराजलाई विसं २०८९ सम्म नेपाल आउन नपाउने गरी उनको देश फ्रान्सपठाउने निर्णय गरेको थियो ।
त्यसका लागि नेपालस्थित फ्रान्सेली दूतावासका अधिकारी र शोभराजका कानुन व्यवसायीसँग अध्यागमन विभागका अधिकारीलेसमन्वय गरेका थिए । त्यसपछि अध्यागमनले निष्कासनका लागि शोभराजका नाममा ट्राभल डकुमेन्ट तयार गरेको थियो ।
अध्यागमन कार्यविधि २०६५ को दफा ६.३ मा हत्या र लागूऔषध कारोबारमा संलग्न विदेशी कैदीलाई १० वर्ष नेपाल प्रवेशमा रोकलगाउन सक्ने अधिकार अध्यागमन विभागलाई दिइएको छ । सोही प्रावधानअनुसार शोभराजका लागि नेपाल आउन १० वर्ष प्रतिबन्धलगाएर निष्कासन गरिएको हो । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले अध्यागमन कानुन अनुसार शोभराजलाई १० वर्षनेपाल प्रवेशमा रोक लगाएर उनको देश निष्कासनको निर्णय भएको बताए । यो निर्णयसँगै शोभराज आजै डिपोर्ट हुँने प्रवक्ता पोखरेललेजानकारी दिए ।
शुक्रबार केन्द्रीय कारागार प्रशासनले १९ वर्षभन्दा बढी सजाय भुक्तान गरेका शोभराजलाई कैद मूक्त गरी अध्यागमन विभागको जिम्मालगाएको थियो । बुधबार सर्वोच्च अदालतले शोभराजलाई रिहा गरी १५ दिन भित्र उनकै देश फिर्ता पठाउन सरकारका नाममा आदेशदिएको थियो । त्यसको भोलीपल्ट बिहीबार भक्तपुर र काठमाडौं अदालतले सर्वोच्चको आदेश बमोजिम रिहा गर्न कारागार प्रशासनलाईअनुमति दिएका थिए ।
तर, अन्य अदालतमा पनि उनी विरुद्ध कुनै मुद्दा रहे/नरहेकोबारे बुझ्ने क्रममा रिहाई प्रक्रिया लम्बिएको थियो । अबेर मात्रै काठमाडौं रभक्तपुर बाहेकका अदालतमा उनीविरुद्ध मुद्दा नभेटिएको पुष्टि भएपछि शुक्रबार रिहाई प्रक्रिया अघि बढेको थियो ।
भक्तपुरमा दुई विदेशी नागरिकको हत्या अभियोगमा शोभराज २०६० सालमा काठमाडौंबाट पक्राउ परेका थिए ।