गुरुङ तमु जातीको महान चाड तमु ल्होसारको अवसरमा तमु परिवार न्युयोर्कले तमु हि ल्हो ल्होछार विशेष कार्यक्रमको आयोजना गरि मनायो । गुरुङ समुदायले नया सालको फेरिएको दिनलाई ल्होछारको रुपमा मनाउदै आएको छ । तमु भाषामा तो ल्हो बाघ बर्षलाई विदाई गदै हि ल्हो अर्थात विरालो बर्षको स्वागतसंगै तमु ल्होसार मनाएका छन ।

विगत वर्षहरुमा झै यस पटक पनि तमु परिवारले न्युयोर्कमा गुरुङ जातीको मौलिक कला सस्कृति झल्कने गरि ल्होछार मनाएका छन । विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त कार्यक्रम प्रमुख अतिथिको रुपमा उपस्थित न्युयोर्कस्थित नेपाली महाबाणिज्यदुत विष्णु गौतम र तमु परिवारका अध्यक्ष मनिता गुरुङले संयुक्त रुपमा उदघाटन गरेका थिए । कार्यक्रममा गुरुङ जातीको मौलिक नृत्य घाटु, कृष्ण चरित्र, कौडा र तमु गीतहरु प्रस्तुत गरेका थिए ।
तमु परिवारका सचिव देबिजंग गुरुङले सञ्चालन गरेको पहिलो चरणको कार्यक्रममा सल्लाहकार अर्जुन घले, प्रमुख अतिथि गौतम र सास्कृतिक संयोजक प्रेम गुरुङले शुभकामना मन्तव्य दिएका थिए । त्यस्तै सास्कृतिक कार्यक्रम माया गुरुङ , रंगिता गुरुङ, निरज घले र राम गुरुङले संचालन गरेका थिए । सास्कृतिक कार्यक्रममा कलाकारहरुको कोरियोग्राफर बिजय नकर्मि, गौरि लामा र गोबिन्द राईले गरेका थिए ।

कार्यक्रममा तमु परिवार न्यूयोर्कले गुरुङ समाजमा सक्रियता पुर्वक नेतृत्व गर्न सफल पहिलो महिला अध्यक्ष मनिता गुरुङलाई सफल महिला अध्यक्षको रुपमा सम्मान गरेको थियो । त्यस्तै मनित गुरुङलाई पि्रसेडेन्ट अवार्डबाट र कलाकार रंजिता गुरुङलाई राष्ट्रिय कलाकारको रुपमा सम्मान गरिएको थियो । तमु परिवारले बर्षनी समुदायको सहयोगबाट ल्होछार आयोजना गदै आएको छ । विगत झै यस पटक पनि समाजका विभिन्न व्यक्तिहरुबाट तमु हिं ल्हो ल्हो-ल्होछार सास्कृतिक कार्यक्रम सफल बनाउन शुभकामना स्वरुप २९ हजार ९ सय ४ डलर आर्थिक सहयोग गरेको जनाएको छ ।