प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताले जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ कि सक्दैनौँ भन्ने विषय नै अहिलेको पहिलो र महत्वपूर्ण विषय भएको बताए ।
प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले आफूहरु सबै जनताको निरन्तर निगरानीमा रहेकाले उनीहरुको जीवनमा सार्थक परिवर्तन ल्याउन लागिपर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्रीले समस्या केलाएर बस्ने छुट नभएको भन्दै समाधानको सूत्र खोज्नुपर्नेमा जोड दिए ।
प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नेमा विश्वस्त रहेको बताए । प्रतिनिधिसभाको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, “विश्वासको मत प्राप्त गर्ने कुरामा म विश्वस्त मात्रै होइन, सिङ्गै ‘हाउस’ विश्वासको मतमा उभिन्छ भन्ने मेरो विश्वास छ ।”
प्रतिनिधिसभाको पहिलो बैठक सौहार्दपूर्ण वातावरणमा सबै पार्टी र स्वतन्त्र सांसदले आआफ्नो धारणा राखेको उल्लेख गर्दै उनले नयाँ सुरुआत गर्नुपर्छ भन्ने प्रतिबद्धता सबै सांसदबाट व्यक्त भएको बताए । “देशका अगाडि विद्यमान समस्या समाधान गर्न सबै मिलेर जानुपर्छ भन्ने सबैको भावना व्यक्त भएको छ”, उनले भने ।