५ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025

न्युयोर्कमा मनाइयो पृथ्वीजयन्ती



न्युयोर्क । न्युयोर्कमा राष्ट्रिय एकता दिवस तथा राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती मनाइएको छ ।

प्रवासी नेपाली एकता समाज अमेरिका(पानस)द्वारा आयोजित सो कार्यक्रममा विभिन्न वक्ताहरुले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानबारे चर्चा गरेका थिए । उनीहरुले नेपाल सरकारले यस अवसरमा लामो समयपछि सार्वजनिक विदा दिन सुरु गरेकोमा सो कदमको स्वागत गर्दै आगामी वर्षमा यो दिवसलाई अरु भव्यरुपमा मनाउने बताएका थिए ।

पानस न्युयोर्क च्याप्टरका सभापति रुद्र रावतको सभापतित्वमा भएको सो कार्यक्रमका प्रमुख अतिथि पानस अमेरिकाका उपाध्यक्ष नरेन्द्रबहादुर शाह, एनआरएन अमेरिकाका अध्यक्ष सूर्य लम्साल, एनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष आङछिरिङ शेर्पा, उपाध्यक्ष शोभाकान्त पाण्डे, स्याङ्जा समाज अमेरिकाका अध्यक्ष विमला हमाल, समाजसेवी अन्जान श्रेष्ठ, जीवन बम, हरिश हमाल, पानसका सदस्यहरु राजेन्द्र खडका, न्हुच्छे डंगोल, पासाङ शेर्पा, आङजाङबु शेर्पालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

चियापानसहितको सो कार्यक्रमको सञ्चालन वाचुन केसीले गरेका थिए ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ११ : ५८ बजे