९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

यतिको विमान दुर्घट्ना: छानविन आयोग गठन, सोमबार विदा, पोखराका सबै उडान स्थगित



सरकारले पोखरामा आइतबार भएको यतिको जहाज दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली २०७१ बमोजिम छानबिन गर्न जाँच आयोग बनाउने निर्णय गरेको हो ।

जाँच आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे छन् भने सदस्यहरुमा नेपाली सेनाका अवकाश प्राप्त उपरथि दीपकप्रसाद बाँस्तोला, अवकाशप्राप्त क्याप्टेन सुनील थापा, हवाई मेन्टिनेन्स इन्जिनियर एकराजजंङ थापा र सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्‍ययन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।

आयोगलाई दुर्घटनाको जाँचका लागि ४५ दिनको समय तोकिएको छ । आयोगले दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा यस्ता दुर्घटना हुन नदिनका लागि अपनाउनुपर्ने वा गर्नुपर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन तयार गर्ने छ ।

सोमबार राष्ट्रिय शोक तथा विदा

यसैबीच सरकारले भोलि सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले माघ २ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

“आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ, दिवङ्गप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ, निधन भएका व्यक्तिका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ”, उनले भने, “शोकपूर्ण घटनाका सन्दर्भमा भोलि माघ २ गते शोक मनाउने र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।”

पोखराका सबै उडान स्थगित

विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार हुने भनिएका सम्पूर्ण उडान स्थगित गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दिए ।

विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए । विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए । दुर्घटनाअघि विमानले अवतरणको अनुमति लिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज विहान १०:३३ बजे काठमाडौँ विमानस्थलबाट उडान भरेको सो विमानले दुर्घटनाअघि अतवरणको अनुमति लिएको जानकारी दिए ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ५ : २८ बजे