प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयताविरुद्ध अभिव्यक्ति दिने मन्त्रीहरूलाई स्पष्टीकरण सोध्ने चेतावनी दिएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधानको मर्मअनुसार चल्न भनेका हुन् ।
‘संघीयता खारेज गर्नुपर्यो भन्ने कुरा मन्त्रीले उठायो र सांसद्ले उठाउनु भयो यो स्पष्टीकरणको विषय हुन्छ । मन्त्रिपरिषदभित्र रहेर संघीयता र लोकतन्त्रविरुद्ध अभिव्यक्ति दिन मिल्दैन’ प्रधानमन्त्री दाहालले भने, ‘सांसदहरू वा बाहिर रहेकाहरूलाई आफ्ना धारणा राख्न पाइन्छ तर मन्त्रिपरिषद्भित्र रहेर त्यो गर्न पाइँदैन । यसमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यसमा स्पष्टीकरणको विषय हुन्छ ।’
उनले संघीयता कार्यान्वयन हुने बताए । उनले प्रदेश सरकार र स्थानीय सरकार केन्द्रका इकाई नभएको तर समन्वयमा चल्नुपर्ने बताए । उनले संघीय निजामती ऐन ल्याउन नदिइने र अधिकार केन्द्रीकृत गर्ने काम विगतमा भएकाले अहिलेको सरकारले त्यो बाधा हटाउन प्रतिबद्धता जनाए ।