३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

रबि लामिछानेले नेपाली नागरिकता लिए, रास्वपा अध्यक्षमा पुनः लामिछाने




रवि लामिछानेले नेपाली नागरिकता लिएका छन् । उनले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट आज दिउँसो नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले नागरिकता पुनः प्राप्तिका लागि निवेदन दर्ता गरेको र लामिछानेले आज दिउँसो नागरिकता लिएको जानकारी दिए । साढे ११ बजेतिर कार्यालय पुगेका लामिछानेले दिउँसो सवा २ बजेतिर नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

सर्वोच्च अदालतले शुक्रबार नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै लामिछानेको सांसद पद बदर गरेको थियो । सो फैसलासँगै उनले सांसद, मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिको पद खारेज भएको थियो ।

लामिछानेले आज प्रक्रिया पूरा गरी पुनः नागरिकता लिएको हो । अमेरिकी नागरिकता त्यागे पनि लामिछानेले नेपाली नागरिकताको पुनः प्राप्तिका लागि निवेदन दिएका थिएनन् । लामिछाने गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

रास्वपा अध्यक्षमा पुनः लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा पुन: रवि लामिछाने चयन भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पुन: प्राप्ति गरेसँगै लामिछानेलाई आइतबार पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति बैठकले सभापतिको जिम्मेवारी सुम्पेको हो ।

लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुन: प्राप्त नगरेको कारण सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि पार्टी सभापतिबाट हट्नु परेको थियो ।

रवि लामिछानेलाई सभापति चुन्न रास्वपाका आजै छोटो समयमा तीन बैठक बसे। पहिलो बैठकमा रविलाई केन्द्रीय सदस्यमा प्रस्ताव गरि पारित गरिएको थियो । दोस्रो बैठकमा सभापति प्रस्ताव गरीएको थियो । तेस्रो बैठकको सभापतित्व रबिले गरेका छन् ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ७ : १९ बजे