२६ मंसिर २०८१, बुधबार | Wed Dec 11 2024

यसरी खर्च हुन्छ अमेरिकाले दिने साढे ७ अर्ब रुपैयाँ



अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) प्रमुख सामन्था पावरले नेपाल भ्रमणका क्रममा घोषणा गरिएका ६ करोड ८५ लाख अमेरिकी डलर (करिब साढे ७ अर्ब रुपैयाँ) सहयोग घोषणा गरेकी छन् ।

उक्त सहयोग घोषणाबारे स्पष्ट पार्दै पावरले नेपालमा लोकतान्त्रिक संस्था र नागरिक समाजको सुदृढीकरण, सञ्चारमाध्यमको समर्थन तथा स्थानीय निर्वाचन एवं कानुनी शासनलाई मजबुत बनाउन र मानव बेचबिखनविरुद्ध लड्नका लागि सहयोग दिन लागेको बताइन् ।

घोषणा भएको रकममध्ये एक करोड ८३ लाख डलर नयाँ सहयोग हो भने बाँकी चार करोड दुई लाख डलर सन् २०२२ मा सम्झौता गरिएको ६५ करोड ९० लाख डलरकै अंश हो । सहयोग घोषणा गर्दै गर्दा उनले कुन–कुन क्षेत्रमा खर्च हुनेछ भन्ने बारेमा समेत स्पष्ट पारेकी थिइन् ।

यस विषयका जानकार हिरा विश्वकर्मा नेपालमा काम गरिरहेका अमेरिकी आईएनजीओमार्फत खर्च गर्ने क्षेत्रसम्म उक्त रकम पुग्ने बताउँछन् । ‘नेपालमा सक्रिय अमेरिकी आईएनजीओहरूलाई कहिले प्रतिस्पर्धा त कहिले अनुदानमार्फत यूएसएआईडीको रकम दिइन्छ । ती आईएनजीओमार्फत नै नेपालमा भएका विभिन्न संघ संस्थाहरूसम्म उत्त सहयोग रकम पुग्छ,’ उनी भन्छन्, ‘त्यसमध्ये पनि केही सीमित रकम उनहरूले लिएर जान्छन् । तर, त्यो सिधै लिने भन्ने हुँदैन । विभिन्न किसिमका काममा आफ्नो उत्पादन वा जनशक्तिको प्रयोग गरेर लिने हुन्छ ।’

पावरका अनुसार उक्त रकम मध्ये दुई करोड डलर समावेशी लोकतन्त्रको सुदृढीकरण खर्च गरिने छ । त्यसैगरी सामुदायिक आवश्यकता, आधारभूत स्वतन्त्रता र जवाफदेहितालाई अघि बढाउन महिला, युवा र सीमान्तकृत समुदायको नेतृत्वमा र उनीहरूकै निम्ति बनेका स्वतन्त्र नागरिक समाजका संस्थाहरूमार्फत १ करोड ८५ लाख डलरसम्म खर्च गरिने बताइएको छ ।

त्यसैगरी बाँकी रकम कानुनी शासनलाई मजबुत बनाउन, स्वतन्त्र र निष्पक्ष निर्वाचनलाई थप टेवा पुर्‍याउन र मानव बेचबिखनविरुद्ध लड्न पनि यूएसएआइडीले स्थानीय नेपाली संस्था र सरकारमार्फत काम गर्नेछ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ५ : २६ बजे