राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास लिएकी छन् ।
ग्याल्पो ल्होसार, २०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै उनले “ग्याल्पो ल्होसार पर्वले सबैलाई एकताबद्ध भएर आर्थिक, सामाजिक र सांस्कृतिकरूपले समुन्नत मुलुक निर्माणका लागि अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस्” भनी कामना गरिन् ।
“नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र हो, शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ ।
नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षका रूपमा ग्याल्पो ल्होसार मनाइन्छ । पर्वको अवसरमा शेर्पा समुदायले आफ्नो घरआँगन, बाटोघाटो तथा पानीका स्रोतको सरसफाइ गर्ने, घरको छतलगायत गुम्बा र चैत्यमा नयाँ ध्वजा राख्ने, गुथुक र खाप्सेजस्ता परिकार खाने अनि आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको वर्तमान सरकार आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
प्रधानमन्त्री दाहालले नेपालीहरूको राष्ट्रिय पर्व ग्याल्बो ल्होसारको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका शेर्पा समुदायलगायत आम नेपाली जनसमुदायमा सुख, शान्ति, राष्ट्रिय एकता, सहकार्य एवं समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै विविधतामा एकतासहित सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको पहिचान र अधिकारलाई संरक्षण र प्रवर्द्धन गरेर मात्र राष्ट्रिय एकता सुदृढ गर्न सकिनेसमेत बताएका हुन् ।
उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषताले भरिपूर्ण विश्वकै एक स्वाधीन र सुन्दर मुलुक रहेको र देशभित्रका सबै भाषा, कला, संस्कृति, सभ्यता र ऐतिहासिकता हाम्रा साझा राष्ट्रिय सम्पत्ति भएको उल्लेख गर्दै तिनीहरूको रक्षा र प्रवर्द्धन गर्नु हामी सबैको साझा जिम्मेवारीसमेत रहेको बताए ।
त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले ‘महायानी बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायको महान् चाड नयाँ वर्ष ग्याल्पो ल्होसार २१५०’को अवसरमा शेर्पा दिदीबहिनी, दाजुभाइलगायत सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।
ग्याल्पो ल्होसारका अवसरमा आज शुभकामना दिँदै उनले यस पर्वले शेर्पा समुदायको मौलिक संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्नुका साथै नेपालीकाबीच आपासी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गरेर राष्ट्रिय एकतालाई सुदृढ् पार्ने विश्वास व्यक्त गरेका हुन् ।
त्यसैगरी प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका हरेक जातजातिका आआफ्ना विशिष्ट रीतिरिवाज, चाडपर्व र संस्कृति भए पनि सबै जातजातिको धर्म, संस्कार र संस्कृतिको सम्मान गर्नु नेपालीको पहिचान भएको बताए ।
शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको नयाँ वर्ष (ग्याल्पो ल्होसार)का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण शेर्पा दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गर्दै उनले सो कुरा व्यक्त गरे ।
“संविधानले समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने सङ्कल्प गरेको छ”, यस पर्वले नेपालीका सबै चाडपर्व, भाषा, वेशभूषा, धर्म, संस्कृति र परम्पराको संरक्षण र सम्वर्द्धन गर्न हामी सबैलाई थप हौसला प्रदान गरोस् भन्ने कामना गर्दछु”, सन्देशमा भनिएको छ ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक पर्वलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको उल्लेख गरेका छन् ।
ग्याल्पो ल्होसारको अवसरमा उनले सम्पूर्ण नेपालीका निमित्त सुख, शान्ति र समुन्नतिको वर्ष बनोस्, भनी शुभकामना व्यक्त गरेका छन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश भएको उल्लेख गर्दै सभापति देउवाले यहाँ विभिन्न जातजातिका आआफ्नै विशिष्ट परम्परा, रहनसहन, रितिरिवाज र चाडपर्व रहेको बताएका छन् ।