नेपालको तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र एमाले नेता सुभाष नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् ।
यही फागुन २५ गते हुने राष्ट्र प्रमुखको निर्वाचनमा पौडेल र नेम्वाङले मात्र उम्मेदवारी दर्ता गराएका छन् । गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेम्वाङ इलाम–२ र पौडेल निर्वाचन क्षेत्र तनहुँ–२ बाट निर्वाचित भएका हुन् ।
पौडेलसँग उपप्रधानमन्त्रीसहित शान्ति तथा पुनःनिर्माण, गृह, कृषि, सूचना तथा सञ्चारमन्त्रीलगायतको जिम्मेवारी सम्हालेको अनुभव छ भने नेम्वाङले कानून, न्याय तथा संसदीय, सामान्य प्रशासन मन्त्रालयलगायतमा नेतृत्व गर्ने अवसर प्राप्त गरिसकेका छन् ।

संविधान तथा ऐन–कानूनका व्याख्याता नेम्वाङले विसं २०६२/६३ को आन्दोलनपछि संविधानसभाको अध्यक्षसहित पाँच पटक सभामुख भइसकेका छन्् त्यसैगरी पौडेलले एक कार्यकाल सभामुखको जिम्मेवारी सम्हाल्ने मौका पाएका छन् ।
कांग्रेस-माओवादीको पुरानै गठबन्धन
प्रधानमन्त्री पहिलो कार्यकाल हुन नपाउने भएपछि कांग्रेस छाडेर एमालेसँग मिलेका माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्फकमल दाहाल कांग्रेससहितको पुरानै गठबन्धनमा फर्के पछि पौडेल राष्ट्रपतिमा चुनिने पक्का जस्तै छ ।
शनिबार बसेको कांग्रेस, माओवादीलगायतका आठ दलको बैठकले कांग्रेसको राष्ट्रपति उम्मेदवारलाई भोट हाल्ने निर्णय गरिसकेको छ । त्यसमा एकीकृत समाजवादी, राजपा, रासपा, जनमोर्चा लगायतका दलहरु छन् ।