४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

नेपालको प्रथम शहीद लखन थापामगरको १४६ औं स्मृति दिवस न्यूयोर्कमा मनाए



न्यूयोर्क । फेब्रुअरी १९ का दिन नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) आयोजनामा “नेपालको प्रथम सहिद लखन थापामगरको १४६ औं स्मृति दिवस” कार्यक्रम मनाएको छ । उनको योगदानको सम्मान तथा स्मरण स्वरुप उनको फोटोमा माल्यार्पण गरेर स्मृति दिवस बनाएको हो । उक्त कार्यक्रममा फिप्नाका सल्लाहकार, संघीय परिषदका सभामुख, उपसभामुख, पूर्व अध्यक्ष ज्यूहरू, न्यूयोर्क राज्यका लागि नेपाल सरकारको पर्यटन सदभावनादूत केशवराम राई र सदस्य संस्थाका अध्यक्ष एवं पदाधिकारी उपस्थिति थिए ।

महासचिव टोमा लामाले नेपालको प्रथम शहीद लखन थापामगरको योगदान स्मरण तथा चर्चा गर्नुकोसाथै नेपाल सरकारले लखन थापामगरलाई नेपालको प्रथम शहीद घोषणा गरेतापनि व्यवहारमा लागु नगरेकोमा दुःख व्यक्त गरे । साथै पछिल्लो चरणमा नेपालमा यो वा त्योको नाममा शहीदहरु थपिँदै गए पनि लखन थापागर जस्ता सच्चा शहीदको उच्च मूल्यांकन नेपाल सरकारले नगरेको बताए । कार्यक्रम फिप्नाका अध्यक्ष राजकुमार बिष्टको अध्यक्षता भएको थियो । फिप्नाका कोषाध्यक्ष तुलबहादुर तामाङले स्वागत मन्तव्य राखेका थिए भने नेपालको प्रथम सहिद लखन थापामगरको योगदानको स्मरण गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।

उपस्थित सबै जनाले प्रथम शहीद लखन थापामगरको योगदानलाई स्मरण गर्दै आआफ्नो मन्तव्य राखेका थिए । मन्तव्य राख्नेमा गुरुङ (तमु) सोसाइटी इंक अमेरिकाक अध्यक्ष तोरन गुरुङ, तामाङ सोसाईटी अफ अमेरिकाका अध्यक्ष छेमाङ तामाङ, मगर संघ अमेरिका अध्यक्ष कुलदीप रानामगर, जिरेल संघ अमेरिकाका अध्यक्ष शान्ति जिरेल, नेवा गुठीका अध्यक्ष विजयमान सिंह, थारुज् एण्ड फ्रेण्ड एशाोसियसनका उपाध्यक्ष दीपक चौधरी, फिप्नाका सभामुख शुर्वण कुमार शाक्य, उपसभामुख गोमा योञ्जन, न्यूयोर्क राज्यका लागि नेपाल सरकारको पर्यटन सदभावनादूत केशवराम राई र फिप्नाका पूर्व सल्लाहकार तेञ्जिन उक्याव लगायतका थुप्रै व्यक्तित्वहरुले मन्तव्य राखेका थिए ।

मन्तव्यमा नेपाल सरकारले लखन थापामगरलाई नेपालको प्रथम शहीदद घोषणा गरेतापनि सोही हिसाबले मान्यता तथा जुन हिसाबले देशव्यापी रुपमा लखन थापागरको स्मृति दिवस मनाउनु पर्ने हो त्यो नभएकोले कुरा उठाएका थिए । उनीहरुले त्यसका लागि राज्यलाई दवाव र जनमानसमा जानकारीको लागि आगामी दिनहरुमा अझ बृहत रुपमा स्मृति दिवस मनाउन जरुरी रहेको धारण गरेका थिए । फिप्नाका सभामुख शुवर्ण कुमार शाक्यले नेपाल सरकारले लखन थापामगरलाई नेपालको प्रथम शहीद घोषणा गरेपनि प्रथम सहिदको दिवस चाहिँ किन नमनाएको भनेर प्रश्न गरेका थिए ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष बिष्टले उपस्थित् सबै जनालाई धन्यबाद ज्ञापन गर्दै आउँदा दिनहरुमा शहीद लखन थापामगरको स्मृति दिवस अझ भव्यरुपमा मनाउने प्रयत्न गरिनुका साथै नेपाल सरकारलाई पनि दबाव तथा ध्यानाकर्षण गराइने बताएका थिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ५ : ४५ बजे