४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

नेम्वाङका लागि एमाले नेताहरु घरदैलोमा



नेकपा (एकीकृत समजावादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग नेकपा (एमाले)बाट राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङले आज भेट गरेका छन् ।

भेटका क्रममा नेम्वाङले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष नेपालसँग आग्रह गरेको जनाइएको छ । उम्मेदवार नेम्वाङसँगै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ र डा विमला राई पौड्याल सहभागी थिए । अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार अध्यक्ष नेपालले नेम्वाङलाई मत मागेकोमा धन्यवाद व्यक्त गरेका थिए ।

उक्त भेटमा नेकपा (एकीकृत समाजवादी) बाट पार्टी अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश हमाल, महासचिव डा वेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला र सचिवालय सदस्य रामचन्द्र झा सहभागी थिए । राष्ट्रपतिको चुनाव नजिकिएसँगै नेपाली कांग्रेसको तर्फबाट आठ दलको समर्थनमा उम्मेदवार बनेका रामचन्द्र पौडेल र एमालेका नेम्वाङमा भेटघाटमा व्यस्त छन् ।

नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रपतिमा कांग्रेस उम्मेदवार पौडेललाई सघाउने निर्णय गरिसकेको छ ।

त्यसैगरी एमाले नेताहरु नेम्वाङको लागि भोट माग्न राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय पुगेका छ्न । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेपछि नेम्वाङसहित एमालेको टोली वसुन्धरा पुगेको हो ।

उक्त टोलीमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव योगेश भट्टराईसहित रहेका थिए । रास्वपा पुस १० मा बनेको एमाले नेतृत्वको गठबन्धनको घटक हो । उसलाई अहिले बनेको आठ दलीय गठबन्धनमा ल्याउने कोसिस भइरहेको छ ।

रास्वपाले राष्ट्रपतिमा कसलाई सघाउने निर्णय लिइसकेको छैन । उसले सांसदहरुलाई ह्विप नलगाउने जनाएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ६ : ०३ बजे