प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बिद्रोहकालका घट्नाहरुको विषयमा रिट दर्ता गन आदेश पछि सबै पूर्व माओवादीहरु एक ठाउँमा आइ पुगेका छन् । हालै मात्र सर्वोच्च अदालतले दाहालले केही अघि सशस्त्र बिद्रोहका बारेमा मारिएक १७ हजार मध्ये पाँच हजारको जिम्मा लिने भनेको विषयलाई लिएर दर्ता खोजिएको रिट दर्ता गर्न आदेश दिएको थियो । त्यसअघि अदालत प्रशासनले यसलाई राजनीतिक प्रकृतिको मुद्दा भन्दै रिट लिन अस्वीकार गरेको थियो ।
यसले पूर्व माओवादी नेताहरुलाई झस्काएको देखिएको छ । जुन सुकै बेला तत्कालिन सशस्त्र विद्रोहका बेला भएका मानव अधिकार हननका विषयहरुमा अदालती प्रकृया सुरु हुन सक्ने भय उनीहरुमा देखिएको हो । सबैले एकै स्वरमा यसको विरोध पनि गरेका छन् ।
जनयुद्धकालीन माओवादी नेताहरु डा बाबुराम भट्टराई, नेत्रविक्रम चन्द, धर्मेन्द्र बाँस्तोलालगायत नेताहरु उपस्थित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले माओवादी आन्दोलनका सबै समूहलाई पार्टी एकतामा आउन र परिस्थितिको सामना गर्नसमेत आग्रह गरे ।
माओवादीले हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म मनाउँदै आएको सहिद सप्ताहको आज अन्तिम दिन ‘सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशन’द्वारा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै उनले माओवादी आन्दोलन कमजोर नभए पनि विभिन्न धार र भङ्गालामा बाँडिएपछि प्रभाव घटेका कारण पुनः एकताबद्ध हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।
वर्तमान सरकारले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिएको तथा सहिद घोषणाका लागि राजपत्रमा सूचना प्रकाशित गर्नेलगायत निर्णय गरेपछि केही शक्तिलाई सह्य नभएको प्रधानमन्त्री दाहालको भनाइ थियो । उनले यतिबेला चर्को बोल्ने भन्दा पनि काम गर्ने समय भएको जिकिर पनि गरे ।
उनले भने, “सरकारका तर्फबाट जनयुद्ध, जनआन्दोलन र त्यस आन्दोलनमा सहादत प्राप्त गर्ने सहिद र बेपत्ता योद्धालाई सम्मान गर्ने काम एकपछि अर्को गर्दै अघि बढेको छ । त्यसमा प्रतिक्रियावादी आतङ्कित भएका छन् । तिनीहरु फेरि एक पटक माओवादीसँग तर्सिएका छन् । माओवादीका नाममा तथानाम गालीगलौज गर्न थालेका छन् ।”
प्रधानमन्त्री दाहालले यो बेला चर्को बोल्ने समय नभई काम गर्ने समय भएकाले आफू केन्द्रित भएको बताए । “कामबाटै प्रतिक्रियावादी शक्तिविरुद्ध लडिरहेको छु”, उनले भने । प्रधानमन्त्री दाहालले केही ‘भूत प्रेत’ निक्लिँदैमा इतिहास र त्यागको कीर्तिमान कायम गरेका महान सहिद नसिद्धिने बरु ज्यूँदो जाग्दो भएर आउने उल्लेख गरे । यो दुर्गा प्रसाईको नेतृत्वमा राजा आउ देश बचाउन भन्दै भइरहेको अभियानतर्फ लक्षित थियो ।
माओवादीविरुद्ध निरन्तर षड्यन्त्र भइरहेकाले आफ्ना तर्फबाट भ्रम चिर्न प्रधानमन्त्री दहालले सबैलाई आग्रह पनि गरे । उनले भने, “प्रतिक्रियावादी भ्रम छर्ने, घेरा हाल्ने र सखाप पार्ने रणनीतिमा छन्, माओवादीले भ्रम चिर्ने, घेरा तोड्ने र प्रतिरोध गर्ने हो, यो काम माओवादीले विगतदेखि नै गर्दै आएको छ ।”
सबै माओवादी एक ठाउँमा उभिएर जनतालाई अपिल गर्ने, सहिद तथा बेपत्ताको सपना र भावनालाई पूरा गर्ने सङ्कल्प गर्ने हो भने त्यो विजयको दिन हुने प्रधानमन्त्री दहालको भनाइ थियो ।
सोही कार्यक्रममा भट्टराई र चन्दले पनि प्रचण्डबिरुद्ध मुद्दा दर्ता गर्न दिएको आदेश षडयन्त्र भएको उल्लेख गर्दै यस प्रकारको ”षडयन्त्र” बिरुद्ध लड्नुपर्ने औल्याएका थिए ।
माओवादी केन्द्रको असहमति
नेकपा (माओवादी केन्द्र)ले दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा भएका घटनाबारे सत्यनिरूपण तथा बेपत्ता छानबिन आयोगले काम गरिरहेको उल्लेख गर्दै आयोगको क्षेत्राधिकारभित्रका विषयलाई असर पर्ने गरी कुनै पनि निर्णय नगर्न आग्रह गरेको छ ।
माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले आज प्रेस विज्ञप्तिमार्फत प्रतिगामी तत्व सलबलाइरहेका अवस्थामा अग्रगामी परिवर्तनका पक्षधर राजनीतिक शक्ति तथा पार्टी एकजुट हुनुपर्ने उल्लेख गरे ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही वर्ष पहिले दिएको अभिव्यक्तिलाई लिएर सर्वोच्च अदालतले रिट दर्ता गर्न दिएको आदेशप्रति पनि सो विज्ञप्तिमा आपत्ति जनाइएको छ ।