८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

राष्ट्रपति पौडेलको छवि: सादा र स्वच्छ



नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई अहिले बधाई लिन भ्याइ नभ्याइ छ । गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिका रुपमा निर्वाचित हुँदा बधाई नदिने को होला र? बिहीबार भएको निर्वाचनमा एमाले नेता सुभाष चन्द्र नेम्वाङलाई दोब्बरभन्दा धेरै मतभारले विजयी भएका पौडेल तुलनात्मक रुपमा सादा र त्यागी नेताका रुपमा चिनिन्छन् । यद्यपी उनले हालसम्म प्रधानमन्त्री हुने अबसर भने पाएनन् ।

पौडेलको जन्म आमा ऋषिमाया र बुवा दुर्गाप्रसाद पौडेलबाट विसं २००१ असोज २९ गते तनहुँको साविक मिर्लुङ बाहुनपोखरामा भएको हो । उनका श्रीमती सविता पौडेल र चार छोरी (शर्मिला, संज्ञा, अनुज्ञा, अवज्ञा) र एक छोरा (चिन्तन) छन् ।

मध्यमवर्गीय किसान परिवारमा जन्मेका पौडेलको स्थायी बसोबास व्यास–८ बेलथुम्की तनहुँ भएपनि उनी हाल काठमाडौँ–१६ बोहोराटार बालाजुमा बस्छन् । उनले शास्त्री (संस्कृत साहित्य, २०२४), स्नातकोत्तर (नेपाली साहित्य २०२७) शिक्षा लिएका छन् ।

विसं २०१६ मा पोखरामा हिमालयन छात्र सङ्घ स्थापना गरेका पौडेल पोखरा विन्ध्यवासिनी पाठशालामा अध्ययन गर्दैगर्दा विसं २०१७ जेठ–असारमा नेपाल संस्कृत छात्र सङ्घको काठमाडौँ अधिवेशनमा प्रतिनिधि भएका थिए । विसं २०१७ पुस १ गते जननिर्वाचित संसद् भङ्ग गरी प्रधानमन्त्री बिपी कोइरालालगायत नेतालाई जेलमा राखिएको विरोध गर्दै उनी प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएका थिए ।

नन्दीरात्रि माविबाट एसएलसी परीक्षा उत्तीर्ण गरेका उनले नन्दीरात्रि मावि विद्यार्थी सङ्घको संस्थापक अध्यक्ष, रानीपोखरी मावि विद्यार्थी सङ्घको अध्यक्ष, जुद्धोदय हाइस्कुलमा विभिन्न २२ विद्यालयका विद्यार्थीको भेला गराई स्वतन्त्र विद्यार्थी युनियनको माग गर्दै त्यससम्बन्धी आन्दोलनको नेतृत्व समेत गरेका थिए ।

उनी विसं २०१९ मा नेपाल संस्कृत विद्यार्थी सङ्घको सचिवको हैसियतमा २०१९–२०२० सालमा उपत्यका आन्दोलनमा र २०२०–२०२१ सालमा राष्ट्रव्यापी स्वतन्त्र विद्यार्थी आन्दोलनमा सहभागी हुँदा गिरफ्तार भएका थिए ।

कांग्रेस तनहुँको सदस्य (२०३४) र जिल्ला उपसभापति (२०३६)को जिम्मेवारी सम्हालेका नेता पौडेल जनमत सङ्ग्रहको सिलसिलामा बहुदलीय व्यवस्थाको प्रचार–प्रसार गर्न गठित कांग्रेस तनहुँ समितिको संयोजक २०३७, कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख २०४० र विसं २०४३ मा कांगेस केन्द्रीय सदस्य भए ।

कांगेस केन्द्रीय महामन्त्री (२०६२–२०६४), कांगेस केन्द्रीय उपसभापति (२०६४–२०७२), कांग्रेस संसदीय दलको नेता (२०६४–२०७०) भएका पौडेल २०७२ सालमा कांग्रेसको केन्द्रीय कार्यवाहक सभापतिसमेत भए ।

भरतपुर कब्जा गर्ने कांग्रेसको सशस्त्र सङ्घर्षमा संलग्न भएको आरोपमा विसं २०१८ मा काठमाडौँबाट गिरफ्तार भई पहिलोपटक करिब एक महिना हिरासत बसेका पौडेल विद्यार्थी आन्दोलनका क्रममा गिरफ्तार हुनुका साथै त्यसपछिका विभिन्न राजनीतिक आन्दोलनका क्रममा राजनीतिक जीवनमा २०१८ देखि २०६२ सम्म १४ वर्षभन्दा बढी जेल जीवन व्यतित गरेका छन् ।

उनी २०४८ सालमा तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएको थिए भने त्यसपछि तनहुँ क्षेत्र नं २ बाट २०५१, २०५६, २०६४, २०७० मा लगातार प्रतिनिधिसभा निर्वाचन र संविधानसभा निर्वाचनमा निर्वाचित भए । गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी तनहुँ क्षेत्र नं १ बाट निर्वाचित भएका हुन् ।

निर्वाचनपछि पहिलोपटक २०४८ सालमा स्थानीय विकासमन्त्री, विसं २०४९ मा कृषिमन्त्री भएका पौडेल २०५१ पुस २ गते प्रतिनिधिसभाको सभामुख निर्वाचित भए । पौडेल २०५६ साल र त्यसपछि उपप्रधान तथा सूचना/सञ्चार मन्त्री, स्थानीय विकासमन्त्री, उपप्रधान तथा गृहमन्त्री हुनुका साथै शान्ति समितिको संयोजक (२०६१–२०६२), शान्ति तथा पुनःनिर्माणमन्त्री (२०६३–२०६४), कांग्रेस संसदीय दलको नेता तथा संसद्मा प्रमुख प्रतिपक्षी दलको नेता (२०६४–२०७०) को जिम्मेवारी सम्हालेका थिए ।

पौडेलले मानवअधिकारसम्बन्धी विभिन्न पुरस्कार, महेन्द्रविक्रम शाह पुरस्कार (महेन्द्रविक्रम शाह नेपाल प्रजातन्त्र कांग्रेसका संस्थापक हुन्), जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’को सम्मान– सन् २०२० लगायत सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् ।

उनका नेपाली कांग्रेसको सङ्क्षिप्त इतिहास, प्रजातान्त्रिक समाजवाद एक अध्ययन २०४७, नेपाली कांग्रेस र नेपालको आधुनिकीकरण, नेपाली कांग्रेस के भन्छ ?, आस्थाको यात्रा (राजनीतिक विश्लेषण) २०५५, नेपाली कांग्रेस अबको बाटो प्रजातान्त्रिक समाजवाद २०७५, कृषिक्रान्ति र समाजवाद, राजनीतिको राजमार्ग २०७९, नेपाली कांग्रेस रूपान्तरणको मार्गचित्र, नयाँ सन्दर्भमा समाजवाद, अभिशप्त इतिहास (माघ १९ को काण्डपछि)लगायत दर्जनौँ पुस्तक तथा विभिन्न विषयमा पत्रपत्रिका तथा अनलाइनमा समसामयिक लेख रचना प्रकाशित छन् ।

विसं २०२५ मा बिपी कोइराला सुन्दरीजल जेलबाट रिहा भएपछि तत्कालीन विद्यार्थी नेता रामचन्द्र पौडेललाई भेट्न सेन्ट्रल जेल जानु भई अविचलित नहुन आग्रह गर्दै प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्न प्रेरणा दिए । त्यहाँ बिपीसँग पौडेलको पहिलो भेट भएको थियो । त्यसबेला बिपीले पौडेलसँगै जेलमा रहनुभएका कम्युनिष्ट नेताहरू मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ र कमल कोइरालालाई पनि भेटे ।

राजनीतिक जीवनमा विसं २०१८ देखि २०६२ सम्म १४ वर्षभन्दा बढी जेल जीवन व्यतित गरेका उनी समाजवादी चिन्तक र प्रयोगकर्ता तथा स्वच्छ छवि, सादा जीवन, उच्च विचारका प्रयोगधर्मी हुनुका साथै स्पष्ट वक्ता र प्रजातान्त्रिक समाजवादका व्याख्याताको विशेष पहिचान बनाएका छन् ।

कांग्रेसभित्र समन्वयकारी, मध्यमार्गी नेताका रूपमा परिचित उनले पार्टीका तत्कालीन सभापति बिपी कोइराला, पार्टीका सर्वमान्य नेता गणेशमान सिंह, पार्टीका संस्थापक कृष्णप्रसाद भट्टराई र पछि सभापति गिरिजाप्रसाद कोइराला र सिंह तथा भट्टराईबीचको विवाद तथा मनमुटाव मिलाउन सधैं मध्यमार्गी र समन्वयकारी भूमिका निर्वाह गरे ।

यसैगरी सशस्त्र द्वन्द्वरत तत्कालीन माओवादीलाई मूलप्रवाहको राजनीतिमा ल्याउने ऐतिहासिक वार्ता र सहमतिका काममा अग्रणी भूमिका निर्वाह गरेका उनी विस्तृत शान्ति सम्झौताका मस्यौदाकार तथा सहमति र सहकार्यका पक्षपातीसमेत हुन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ११ : २८ बजे