११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

कांग्रेस र रास्वपाले गर्यो प्रधानमन्त्रीलाई बिश्वासको मत दिने निर्णय



नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको ऱ्छ ।

कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले विश्वासको मत दिन ह्वीप लगाउने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

आइतबार नै बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको थियो । प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार विश्वासको मत लिने तय भएको छ ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार बसेको रास्वपा संसदीय दलको बैठकले प्रधाानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

१० पुसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा दाबी गर्दा रास्वपाले पनि समर्थन गरेको थियो । ११ पुसमा रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भए भने ३ माघमा रास्वपाका डोलप्रसाद अर्याल श्रम र शिशिर ढकाल शिक्षामन्त्री तथा तोसिमा कार्की स्वास्थ्यराज्यमन्त्री भए ।

तर १३ माघमा सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेपछि उनको मन्त्री पद गयो । लगतै नेपाली नागरिकता लिएका लामिछानेले गृह मन्त्रालयमा फर्किन चाहेका थिए, तर प्रचण्ड सहमत नभएपछि रास्वपाले २२ माघमा सरकार नै छाड्यो । समर्थन भने फिर्ता लिएको थिएन ।

२५ फागुनको राष्ट्रपति चुनावमा १० दलको गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई साथ दिएको रास्वपाले अब प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सत्ता पक्षकै बेञ्चमा बस्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  १ : ३१ बजे