एयर ट्राफिकको नियम उल्लंघन गरेको आरोपमा भारतीय ध्वजाबहाक वायुसेवा एयर इन्डियाका चालक दललाई नेपाल नागरिक उड्डयन प्राधिकरणले तत्कालका लागि नेपालमा हुने उडानमा प्रतिबन्ध लगाएको छ ।
सिमरामाथि १९ हजार फिट उचाइमा फन्को लगाइरहेको (होल्डिङमा रहेको) एयर इन्डियाको विमान ३७ सय फिट तल झारिएको घटनामा संलग्न भारतीय ध्वजाबहाक वायुसेवा एयर इन्डियाका चालक दललाई उक्त प्रतिबन्ध लगाइएको हो ।
प्राधिकरणले यस घटनामा संलग्नलाई कारबाही गर्न भारतीय नागरिक उड्डयन कार्यालय (डीजीसीए इन्डिया) लाई पत्राचार समेत गर्ने भएको छ । शुक्रबार भएको यो घटनामा त्यही दिन एयर इन्डियाको विमान काठमाडौंमा अवतरण भएपछि सोधपुछ गरिएको र त्यसदिन एयर इन्डियाका पाइलट–इन–कमाण्डले गल्ती भएको जनाउँदै माफी मागेको स्रोतले बतायो ।
नेपालको नागरिक उड्डयन प्राधिकरणले उनलाई कारबाही गर्न नमिल्ने भएकाले भारतको नागरिक उड्डयन कार्यालय (डीजीसीए) लाई पत्र पठाउने र नेपालमा कारबाही फुकुवा नगरुन्जेल उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
यसै बिषयमा तीन जना नेपाली एयर ट्राफिक कन्ट्रोलरलाई पनि कारवाही गरिएको बताइएको छ ।
शुक्रबार बिहान पौने नौ बजे मलेसियाबाट आएको नेपाल वायुसेवा निगमको न्यरोबडी विमान सिमरामाथि १५ हजार फिट उचाइमा फन्को लगाइरहेका बेला त्यो विमानमाथि १९ हजार फिटमा फन्को लगाइरहेको एयर इन्डियाको विमान एक्कासि १५ हजार ३ सय फिटमा झरेको थियो ।
दुवै जहाज आमनेसामने भएपछि दुवैको ककपिटमा ‘ट्राफिक अलर्ट’ ले सावधानी गराएको थियो ।