२६ मंसिर २०८१, बुधबार | Wed Dec 11 2024

अर्थशास्त्री वाग्लेद्वारा कांग्रेस त्यागेर रास्वपा प्रवेश



नेपाली कांग्रेस परित्याग गरेका अर्थविद डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिएका छन् । वाग्लेले बिहीबार रास्वपाको सदस्यता लिएका हुन् । यसअघि उनले सामाजिक संजालमा नेपाली कांग्रेस पार्टी छाडेको घोषणा गर्रेका थिए ।

वाग्ले रास्वपाबाट तनहुँ क्षेत्र नं १ मा उपनिर्वाचन लड्ने तयारीमा छन् । उनलाई वैशाख १० मा हुने तनहुँ १ को उपनिर्वाचनको टिकट केही दिनमै दिने निर्णय रास्वपाले गर्ने भएको छ।

सामाजिक सञ्जाल फेसबुकमा उनले भनेका छन्, “विसं २०४२ को ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलनदेखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु, त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्षरूपमा आर्थिक नीति र योजना, बौद्धिक–सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरेँ ।”

उनले सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै विसं २०८० को सुरुआतसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय रहने उल्ले गरेका छन् ।

‘जननायक बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किसुनजीको ऐतिहासिक दल अहिले दाइ, भाउजु, साला, भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ,’ उनले लेखेका छन्, ‘अब कांग्रेस-कम्युनिस्टका असल मानिसहरू, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसे पनि नेपालको भलो चिताउने नेपालीहरू मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ । सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेन्डा बोक्दै २०८० को सुरुआतसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु । आम नैराश्य चिरेर ‘यो देश बन्छ’ भन्ने आशा जगाउने हो, बनाउने नै हो ।’

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ७ : ३४ बजे