६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

तनहुँ–१ : रास्वपाका डा स्वर्णिम वाग्ले विजयी, रबिले जित्ने सुनिश्चित



तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणनाअनुसार उनले ३४ हजार नौ सय ११ मत प्राप्त गरेका छन् ।

उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार एक सय २२ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा (एमाले)का सर्वेन्द्र खनालले आठ हजार चार सय ८८ मत प्राप्त गरेको सहायक निर्वाचन अधिृकत मीनबहादुर कुँवरले जानकारी दिए ।

यसैगरी राप्रपाका शोभा गुरुङले दुई सय १८, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ९९, नेमकिपाका रामप्रसाद प्रजापतिले ३१, नेकपा समाजवादीका गणेश श्रेष्ठले पाँच, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापाले एक सय ६६ र राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर रानाले ८७ मत प्राप्त गरे ।

निर्वाचनमा ६५ हजार तीन सय १६ मत खसेकामा ६४ हजार एक सय ३५ मत सदर भएको थियो भने एक हजार एक सय ८१ मत बदर भएको थियो ।

तनहुँ–१ का प्रतिनिधिसभा सदस्य नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित हुनुभएपछि रिक्त यो स्थानमा आइतबार निर्वाचन भएको थियो ।

चितवन २ मा रबिले जित्ने सुनिश्चित

चितवन क्षेत्र नम्बर-२ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जित्ने सुनिशुचित भएको छ ।

भरतपुर महानगरपालिकाका क्षेत्र नम्बर २ मा पर्ने सबै वडा, इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकाको वडा नम्बर १ देखि ४ सम्म गणना हुँदा लामिछानेले ४५ हजार ८४२ मत प्राप्त गरेका छन् ।

साथै लोकतान्त्रिक बाम गठवन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका जीतनारायण श्रेष्ठले आठ हजार ४२५ मत र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले आठ हजार ३३० मत प्राप्त गरेका छन् ।

हाल सम्म ६४ हजार ५४५ मतगणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिएका छन् ।

मतगणना दिउँसो १२ बजे सम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ । यस क्षेत्रमा ७८ हजार २७७ मत खसेको थियो । सो क्षेत्रमा ४३ स्थलका १३८ केन्द्रमा मतदान गरिएको हो । यस क्षेत्रमा १ लाख २४ हजार ६९५ जना मतदाता रहेका थिए । जसमध्ये ६३ हजार २९१ महिला, ६१ हजार ४०३ पुरुष र एक जना तेस्रो लिङ्गी छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ११ : ३० बजे