गृहजिल्ला झापा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी भएको छ । काठमाडौंबाट चन्द्रगढी विमानस्थल हुँदै बुधबारे जाने क्रममा ओलीले पहिचानवादीको चर्को विरोध सहनु परेको हो ।
विरोध हुने थाहा पाएपछि ओलीको सुरक्षामा बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको थियो । तर ओली बुद्धशान्ति गाउँपालिका पुगेपछि कोशी प्रदेशलाई लिएर चर्को नाराबाजी भयो ।
पहिचानवादीहरुले ‘कोशी प्रदेश खारेज गर’, ‘पहिचान मेट्न पाइँदैन’, ‘कोशी नाम चाहिँदैन, ‘केपी ओली मुर्दावाद’ र अन्य उग्र नारा लगाएका थिए ।
पहिचानवादीहरुले ओलिको स्कर्टिङ टोलीमाथि ढुंगामुढा पनि गरेका थिए । तर प्रहरीले ओली सवार गाडीलाई कडा सुरक्षा दिएर एमालेको कार्यकर्ता भेटघाटस्थल बुधबार पुर्याए ।
ओली आउने थाहा पाएपछि सयौँ पहिचानवादीहरु बुद्धशान्तिमा भेला भएर विरोधमा उत्रिएका थिए । उनीहरुले प्रहरीले दमन गरेको भन्दै चर्का नारा पनि लगाए ।
संसदमा कुरा उठ्यो
एमालेका प्रमुख सचेतक पदम गिरीले बुधबार संसद बैठकमा आफ्ना अध्यक्ष सहभागी कार्यक्रम विथोल्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।
झापाको बुधबारेमा आयोजित कार्यक्रममा सत्तापक्षकै कार्यकर्ताहरुले आक्रमण प्रयास गरेको उनको दाबी थियो ।
उनले मुलुकको शान्ति, सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको सत्तापक्षले नै अध्यक्ष ओली सहभागी कार्यक्रममा होहल्ला, ढुंगामुढा गर्ने र कार्यक्रम नै बिथोल्ने प्रयास गरेको भनेका थिए ।