यस वर्षको बसन्त याममा हिमाल आरोहणका लागि वैशाख २५ गतेसम्ममा ११२३ जनाले अनुमति लिएका छन् । त्यसम्धे १२६ आरोहण दलका पुरुष ८६९ र महिला २५४ जना छन् ।
सगरमाथा आरोहणका लागि मात्र ४४ आरोही समूहका चार सय ६७ आरोहीले अनुमति लिएका छन् । त्यसमध्ये पुरुष ३६९ र महिला ९८ जना रहेका छन् ।
पर्यटन विभागका अनुसार यस याममा आरोहण अनुमति लिने आरोही लगभग आइसकेको छ । अनुमति लिएका आरोहीहरु अहिले हिमालमा पुगिसकेका छन् ।
सगरमाथाको साउथ कोल (चौथो शिविर) सम्म सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले बाटो बनाइसकेका छन् । सगरमाथाको चुचुरोमा डोरी टाँगेपछि आरोहण सुरु हुन्छ । यही वैशाख १० गते नै सगरमाथाको चाँथो शिविरसम्म बाटो खुलाइए पनि प्रतिकूल मौसमका कारण आइसफल डाक्टरले चुचुरोसम्म बाटो पुर्याउन कठिन भइरहेको छ । उनीहरु एकसाता बढीसमयदेखि आधार शिविरमा छन् ।
सगरमाथाको सात हजार पाँच सय मिटरमाथि क्षेत्रमा तीव्र वेगको हावा चलिरहेकाले आरोहणलाई निरन्तरता दिन नसकिएको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको ‘इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनी’ले जनाएको छ ।
सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)ले बाटो बनाएको थियो । सगरमाथाको साउथ कोलसम्म यही वैशाख १० गते नै बाटो खुलिसकेको थियो । वसन्त ऋतुको आरोहणका लागि सगरमाथासहितका विभिन्न हिमालचुली आरोहणका एक सय २६ आरोही समूहका दुई सय ५४ महिला र आठ सय ६९ पुरुष गरी कूल एक हजार एक सय २३ आरोहीले अनुमति लिएको विभागले जनाएको छ ।