४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

नक्कली भूटानी शरणार्थी प्रकरण: पूर्वगृहमन्त्री खाण पक्राउ



नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त घटनाको अनुसन्धानका लागि खाणलाई उनकै निवासबाट नियन्त्रणमा लिएर परिसर ल्याइएको प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

यसअघि यसै प्रकरणमा खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । प्रहरीले उनलाई आज बिहान जडीबुटीबाट पक्राउ गरेको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

यो सँगै उक्त घटनामा आरोपित ११ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । यसअघि मङ्गलबार काठमाडौँको टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको थियो ।

त्यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भन्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पनि पक्राउ गरिसकेको छ ।

उक्त घटनामा आरोपित नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी र राईका छोरा निरज फरार छन् । जिल्ला प्रहरी परिसरले उनीविरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ । उक्त घटनामा हालसम्म एक सय छ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले कुल रु २३ करोड २५ लाख ठगी भएको भनी प्रहरीमा जाहेरी दिएका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ३ : २७ बजे