नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोमा पक्राउ परेकाहरुको अनुसन्धानका लागि प्रहरीलाई थप चार दिन प्राप्त भएको छ । सरकारी वकिलको कार्यालयले ४ दिनभित्र अनुसन्धान सकेर रायसहितको प्रतिवेदन पेश गर्न प्रहरीलाई निर्देशन दिएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंलाई अनुसन्धान सकेर प्रतिवेदन बुझाउन भन्दै आरोपीहरुविरुद्ध अन्तिम पटक चार दिन म्याद थप गर्न जिल्ला अदालत, काठमाडौंलाई अनुरोध गरिएको छ । शनिबारदेखि लागू हुने गरी अन्तिम पटक चार दिनको म्याद थप गर्न प्रस्ताव गरिएको हो ।
संगठित अपराधको मुद्दा ६० दिनभित्र अदालतमा पुर्याइसक्नुपर्ने हुनले वकिल कार्यालयले आफ्नो अध्ययनको समय समेत राखेर चार दिनभित्र अनुसन्धान प्रतिवेदन बुझाउन भनेको हो ।
नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनी मन्त्री हुँदा गृहसचिव रहेका टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी लगायत पक्राउ परिसकेका छन् ।
प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असूली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए ।
उनीहरुको बयानका आधारमा प्रकरणमा हाई प्रोफाइल कनेक्सन खुलेको थियो । प्रकरणमा पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वसभासद् आङटावा शेर्पा, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापालगायत फरार छन् ।