११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025

तेन्जिङ र हिलारीको तस्बिर सगरमाथामा



पहिलो आरोहणकफ ७० वर्ष पुगेको अवसरमा तेन्जिङ नोर्गे र सर एडमन्ड हिलारीको तस्बिर सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुर्याइएको छ । सन् १९५३ मा तेञ्जिङ र हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए ।

सर्वोच्च शिखर सगरमाथाको शिखरमा उनीहरुको तस्बिर पुर्याउने काम भने कीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पाले गरेका हुन् ।

शेर्पाले तेन्जिङ नोर्गे र सर एडमन्ड हिलारीको तस्बिर यही वसन्त ऋतुको जेठको ३ गते चुचुरोमा पुर्याएइका हुन् । शेर्पाले यही जेठ महिनामा दुई पटक सगरमाथाको सफल आरोहण गरेका थिए । जेठ ३ र जेठ ८ गते गरी दुई पटक सगरमाथाको आरोहण गरेका शेर्पाले हालसम्म ११ पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।

सगरमाथा आरोहण गर्नुअघि बुक्स राईटिङ नेपाल प्रालिद्वारा प्रकाशित शेर्पाबारे लेखिएको ‘हिमालयन म्याभरिक’ नामक किताब सगरमाथा आधार शिविरमा सार्वजनिक गरिएको थियो । साथै हिमालयन म्याभरिक नामक किताब सगरमाथाको चुचुरोमा समेत पुर्याएको उनले बताए । चुचुरोमा पुर्याएको किताब हस्ताक्षर गरी अमेरिकन दूतावासलाई बुझाउने शेर्पाले बताए ।

शेर्पाले यसअघि सन् २०१८ मा १० दिनमा ३ पटक सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा कायम गरेका छन् । सन् २००८ देखि ६ हजार मिटर अग्ला हिमाल आरोहण गर्न सुरु गरेका शेर्पाले सन् २०१६ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका थिए ।

उनले हालसम्म सगरमाथा, मनास्लु, केटु, नागा पर्वत, धौलागिरी, कञ्चनजंगा, ल्होत्सेलगायत हिमालहरुको सफल आरोहण गरेका छन् । नागा पर्वत र मनास्लु हिमाल उनले विना अक्सिजन आरोहण गरेका थिए ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  १२ : ५० बजे