राष्ट्रपति कार्यालयले टीकापुर घटनामा जन्मकैदको सजाय भएका रेशम चौधरीलाई माफी दिने प्रस्ताव गृह मन्त्रालयमा फिर्ता पठाइदिएको छ।
राष्ट्रपति कार्यालयले रेशम चौधरीबारेको निवेदन फिर्ता गर्दा दुई कारणहरु उल्लेख गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपतिले प्रचलित कानुन बमोजिम गर्न, यस सम्बन्धमा अदालतबाट भएको फैसला र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत नहुने गरी कानुन बमोजिम मिलाउन भनिएको छ ।
त्यसैगरी उक्त मुद्दाका सम्बन्धमा पीडितको तर्फबाट परेको निवेदन पनि आवश्यक कार्यार्थका भन्दै माफीको निवेदनसँगै गृहमा फिर्ता गरिएको छ । चौधरीलाई माफी दिने निवेदन राष्ट्रपति कार्यालयमा पुगेपछि टिकापुर घट्नामा मारिएको प्रहरीको परिवारको तर्फबाट राष्ट्रपति कार्यालयमा निवेदन परेको थियो ।
चौधरी २०७२ भदौ ७ गते टीकापुरमा भएको प्रदर्शनमा भएको हिंसात्मक घट्नामा प्रमुख आरोपी भएर सजाय पाएका व्यक्ती हुन् । उक्त घट्नामा आठ जना प्रहरी र एकजना दूधे बालकको ज्यान गएको थियो ।
घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हवल्दार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद, सहायक हवल्दार रामबिहारी चौधरी र प्रहरी जवान जनक नेगी मारिएका थिए ।
सो घटनामा रेशम चौधरी दोषी रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले उनलाई जन्मकैदको सजाय सुनाएका थिए। गत जेठ २ गते सर्वोच्च अदालतले उच्च अदालतको फैसला सदर गरिदिएको थियो ।
रेशम चौधरी निर्दोष रहेको र उनलाई रिहा गर्नुपर्नेलगायत मुद्दा लिएर गठन भएको नागरिक उन्मुक्ति पार्टीले संसदमा ४ सिट जितेको छ । पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छन् । उनी रेशम चौधरीकी श्रीमती हुन् ।