प्रधानमन्त्री पुष्पकमल दाहालको चारदिने औपचारिक भारत भ्रमणको तालिका शनिबार सार्वजनिक भएको छ । नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दाहालले यही जेठ १७ देखि २० सम्म औपचारिक भ्रमण गर्ने जानकारी दिएका हुन् ।
विज्ञप्ति अनुसार प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा भारतकी राष्ट्रपति दौपदी मुर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेट गर्ने छन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग जेठ १८ मा दिल्लीस्थित हैदराबाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने छ । भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री दाहाल र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजसमेत दिने पनि कार्यक्रम रहेको छ ।
त्यसैगरी विदेशमन्त्री एस जयशंकर, सुरक्षा सल्लाहकार अजित डोभल र विदेश सचिव विनयमोहन क्वात्रासँग प्रधानमन्त्रीको भेटवार्ता हुने बताइएको छ । यद्यपी ती भेटवार्ताहरु बिज्ञप्तिमा उल्लेख छैनन् । प्रधानमन्त्री दाहालले मध्यप्रदेशको इन्दोर र उज्जैन भ्रमण गर्ने कार्यक्रम पनि छ । इन्दोरमा प्रधानमन्त्री दाहाललाई फोहोरमैला व्यवस्थापनबारे जानकारी दिने तयारी छ भने उज्जैनमा प्रधानमन्त्री दाहालले महाकालेश्वर मन्दिर दर्शन गर्नेछन् ।