भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको बार्तामा सात विषयमा सम्झौता भएको छ । अन्य विषयहरुमा पनि छलफल भएको छ ।
प्रतिनिधि मण्डलस्तरीय वार्तापछि दुबै प्रधानमन्त्रीले पत्रकार सम्मेलनलाई संयुक्त रूपमा सम्बोधन गरेका छन् । पत्रकार सम्मेलनमा दुई प्रधानमन्त्रीले केही परियोजनाको शिलान्यास, उद्घाटन गरेका छन् भने दुबै प्रधानमन्त्रीको उपस्थितिमा दुई देशबीच केही सात सम्झौताहरु भएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले कुर्था-बिजलपुरा रेलमार्ग नेपाललाई हस्तान्तरण गरे भने दुबै प्रधानमन्त्रीले बथनाहादेखि विराटनगरको नेपाल कस्टम यार्डसम्म भारतीय कार्गो रेल र नेपालगञ्जमा संयुक्त जाँच पोष्टको उद्घाटन गरेका छन् ।
भैरहवामा संयुक्त जाँच पोष्ट, मोतीहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो खण्ड र गोरखपुर-बुटवल ४०० केभी प्रसारण लाइनको भारततर्फको खण्डको शिलान्यास गरिएको छ ।
भ्रमणका क्रममा दुई प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र भारतबीचको व्यापार सन्धी नवीकरण गरिएको छ, त्यसैगरी अमलेखगञ्ज-चितवन र सिलुगढी-झापा पेट्रोलियम प्रसारण लाइनको एमओयू भएको छ ।
त्यसैगरी नेपालको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र भारतको सुष्मा स्वराज इन्स्टिच्युटबीच सहकार्यको सम्झौता, चाँदनी दोधारामा एकीकृत जाँच पोष्ट निर्माण सम्झौता, फुकोट कर्णाली जलविद्युत परियोजना विकास सम्झौता, तल्लो अरूण जलविद्युत परियोजना विकास सम्झौता तथा भारत र नेपालबीच अन्तरदेशीय भुक्तानी सम्झौता भएको छ । त्यसैगरी हवाई रूट र सीमा विवादबारे पनि छलफल भएको बताइएको छ ।
संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री दाहालले नेपाली पक्षले भारतबाट अतिरिक्त हवाई रूटका लागि अनुरोध गरेको र भारतीय पक्षले सकारात्मक प्रतिक्रिया दिएको बताए । त्यसैगरी दुबै प्रधानमन्त्रीले सीमा विवादबारे कुराकानी भएको जानकारी दिए ।
भारतीय प्रधानमन्त्री मोदीले वार्ताका माध्यमबाट सीमा विवाद समाधान गर्न सकिने बताए । ‘हामी हाम्रो सम्बन्ध हिमालयको उचाइमा पुर्याउनका लागि काम गरिरहनेछौं। यही भावनाका साथ सीमासम्बन्धी वा अन्य विषयहरूको पनि समाधान गर्छौं,’ सम्बोधनका क्रममा उनले भने । नेपाल र भारतबीच लिपुलेक-लिम्पियाधुरा, सुस्तालगायत विभिन्न ठाउँमा सीमा विवाद छ ।