८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

न्युयोर्कमा नेपालीको आफ्नै भवनमा स्थापना भयो नेपाली मन्दिर



न्युयोर्क । लामो समयको प्रयासमा न्युयोर्कका नेपालीले आफ्नै भवनमा नेपाली मन्दिर स्थापना गर्न सफल भएका छन् । रिजउड नेपाली समाजको अगुवाईमा ‘दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्र’ का लागि आफ्नै भवन गत मे २३ तारिखका दिन खरिद गरेको हो ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष राजेश भट्टले क्विन्सको रिजउडमा अवस्थित उक्त भवनमा मन्दिर कक्ष, हल, ४ वटा अपार्टमेन्ट र ३ वटा अफिस स्पेश रहेको जानकारी दिए । उक्त भवन १९,९०,००० डलरमा खरिद गरेको र संस्थाका केहि सदस्यहरुले ‘पर्सनल ग्यारेन्टी’ बसी ९,९०,००० डलर ऋण लिएको बताइएको छ ।

यसअघि सन् २०१० र २०१७ मा दुई महापुराण लगाएर मन्दिर स्थापनका लागि विभिन्न संस्था र व्यक्तिहरुले २२,४७,६२७.०२ डलर रकम दिने प्रतिबद्धता दिएका थिए । अहिलेसम्म लगभग ९९९,२२१.५० डलर उठिसकेको छ भने १२,५७,०१४.८२ रकम उठ्न बाँकी छ ।

‘हामीलाई विश्वास छ हाम्रा साथीहरुले कबुल गरेको रकम चाँडै नै उपलब्ध गराउनु हुनेछ,’ अध्यक्ष राजेश भट्टले भने । त्यो रकम आएमा मन्दिरको व्यवस्थापन, भवनको पुर्ननिमाणलगायत धेरै कुरामा सहज हुनेछ ।’

कार्यक्रममा अधिकांश वक्ताहरुले सबै संस्थाका पदाधिकारी तथा अन्यलाई कबुलेको रकम दिएर मन्दिर व्यवस्थापनमा सघाउन आह्वान गरेका थिए ।

‘यो अब रिजउड नेप्लिज सोसाइटीको मात्र मन्दिर रहेन, अब यो सारा नेपालीको मन्दिर हो,’ एक वक्ताले भने, ‘हामी सबैले यसलाई साथ दिनुपर्छ ।’

कार्यक्रममा मुख्य अतिथि न्युयोर्क कन्सुलेट अफिसका कन्सुलर गणेश अधिकारीले मन्दिरलाई आफ्नै भवनमा ल्याउन सफल भएकोमा सबैलाई बधाई दिएका थिए ।

संस्थाले गत जनवरीदेखि हल भाडामा दिएर विभिन्न कार्यक्रम, पुजाआजा तथा बालबालिकाहरुकमा लागि हरेक आइतबार नेपाली भाषाको पढाई र नृत्य कक्षाहरु सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ४ : १२ बजे