२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

पूवि सेवा आयोग अध्यक्षलाई दुर्व्यवहार गर्ने नेविसंघ नेता पक्राउ



पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेशराज दाहाललाई दुर्व्यवहार गर्ने नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता सरोज पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार बिहान सुनसरी प्रहरीले मोरङको बूढीगंगाबाट नेविसंघ मोरङका सभापति सरोज पोखरेललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सुनसरी जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी प्रभुप्रसाद ढकालले सेवा आयोगको जाहेरीका आधारमा पोखरेललाई नियन्त्रणमा लिएको जानकारी दिए ।

पूर्वाञ्चल विश्वविद्यालयमा २२ वर्षपछि विज्ञापन खुलाएर कर्मचारी भर्ना प्रक्रिया अघि बढाएका सेवा आयोग अध्यक्ष दाहाललाई नेविसंघ, मोरङले दुर्व्यवहार गरेको हो । सुनसरीको इटहरी उपमहानगरको आँपगाछीस्थित आवासमा प्रवेश गरेर सोमबार नेविसंघका नेताहरूले दाहालको अनुहारमा मोसोजस्तो कालो पदार्थ पोखिदिएका थिए ।

सेवा आयोगको अध्यक्ष भएपछि दाहालले अधिकृतदेखि श्रेणीविहीनसम्मका १ सय १५ कर्मचारी भर्ना गर्न २०७८ चैत १५ मा विज्ञापन खुलाएका थिए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ६ : २३ बजे