२५ मंसिर २०८१, मंगलबार | Wed Dec 11 2024

कोशीमा एमालेका कार्की नेतृत्वको सरकार ढल्यो



कोशी प्रदेशमा एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा शुक्रबार विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको हो । २०७९ मंसिरमा भएको प्रदेश सभा चुनावपछि पुस २४ मा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा प्राप्त दलको नेताको हैसियतमा कार्की पुस २४ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।

एक महिनाअघि सत्ता गठबन्धनमा रहेको माओवादी र जसपाले एमाले सरकारलाई दिएको फिर्ता लिएपछि कार्कीले शुक्रबार प्रदेशसभामा विश्वासको मतको प्रस्ताव राखेका थिए । शुक्रबार भएको मतदानमा कार्कीले ९३ सदस्यीय प्रदेश सभामा बहुमतका आवश्यक पर्ने ४७ मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको हो ।

प्रदेशसभामा शुक्रबार उपस्थित ८९ सांसदमध्ये विश्वासको मतको पक्षमा ४६ र विपक्षमा ४३ मत परेको थियो । जनता समाजवादी पार्टीकी प्रदेश सांसद निर्मला लिम्बूका साथै प्रतिपक्षी दलका थप दुई गरी तीन जना प्रदेश सांसद अनुपस्थित रहे ।

विश्वासको मत लिने प्रस्तावमाथि प्रदेशसभामा बिहीबार सत्तापक्ष र विपक्षी दलका नेताहरूले छलफलमा भाग लिएका थिए । मुख्यमन्त्री कार्कीकै आग्रहमा दिउँसो पटक–पटक सारिएको बैठक मुख्यमन्त्री र मन्त्रीहरू सभामा नफर्किएपछि बिहीबार बस्न सकेन । माओवादी र जसपाले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले सुरुमा बिहीबार आधा घण्टा, त्यसपछि एक घण्टा हुँदै शुक्रबारसम्मका लागि बैठक स्थगित गर्न आग्रह गरे थिए । त्यसै पछि बैठक शुक्रबारका लागि सारिएको थियो ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  २ : ४४ बजे