पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको चर्चा छ । उनले भ्रष्टाचार नगर्ने भनेदेखि घाटामा रहेको नेपाल एयरलाइन्सको अप्रेसन नाफामा पुर्याएको भन्ने सम्मको चर्चा भइ रहन्छन् ।
अहिले फेरी उनी चर्चामा छन् । वैदेशिक रोजगारीबाट फर्किएका एक युवाले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफू ठगिएको गुनासो ट्वीटरमा गरेपछि ट्वीटरबाटै उनी एक्सनमा उत्रिएको बताएपछि चर्चा भएको हो ।
‘दामु दाइ’ नामको ट्विटर ह्यान्डलबाट आफू ठगिएको तथा लगेजका सामान हराएको जानकारी दिइएको थियो । त्यस ट्वीटरलाई मेन्सन गर्दै मन्त्री किरातीले आफुले सम्बन्धित निकायमा निर्देशन दिइसकेको भन्दै न्याय दिलाउने प्रतिबद्धता जनाएका छन् ।
‘दामु दाइ’ नामको ट्विटर ह्यान्डलमा पैसा तथा कागजातसहित लेखिएको छ, ‘धन्यवाद नेपाल सरकार अनि त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्ट! मैले ६ वर्ष कोरियामा कमाएको पैसा एकपटक पनि हुन्डी नगरी नेपाललाई रेमिट्यान्स पठाएको सम्मानस्वरूप २ ओटा मोबाइल ल्याएबापत नेरु ४४७३४ लिएको छ र मेरो लगेजमा ल्याएको सामानमध्ये २५ प्रतिशत सामान मेरो लगेजबाट हराएको छ र पटकपटक एयरपोर्ट जाँदा सीसी टीभी हेर्दिन आग्रह गर्दा राम्रो कुरासमेत नगरेको कुराले मजस्ता वैदेशिक रोजगारीमा गएका सम्पूर्ण नेपालीहरू अत्यन्तै दुःखी भएको र हुने कुरा सम्बन्धित ठाउँसम्म पुर्याइदिनु हुन हार्दिक अनुरोध गर्दछु।’

जवाफमा पर्यटनमन्त्री किराँतीले लेखेका छन्, ‘यो घटनाले दुःखित भएँ। परदेशमा दुःख गरेर घर फर्कंदा देखिने यस्ता कुसंस्कार अझै कति भोग्नुपर्ने? सम्बन्धित निकायहरूमा यो विषय जानकारी गराएको छु। दामुजीलाई न्याय हुने र यस्ता घटना न्यूनीकरणका लागि आवश्यक कदम निर्ममतापूर्वक कार्यान्वयनमा ल्याउन लागिपर्नेछु । सबै सरोकारवालाप्रति आभार।’