७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

भ्रष्टाचारविरुद्धको अभियान रोक्न प्रधानमन्त्रीको राजीनामा मागिएको प्रेस सल्लाहकारको दावी



प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भ्रष्टाचारबिरुद्धको अभियान रोक्न विपक्षीले प्रधानमन्त्रीको राजीनामा मागको दावी गरेको छ ।

प्रधानमन्त्रीले ब्यवसायी प्रितम सिंहको सन्दर्भका बोलेको विषयलाई लिएर राजीनामा मागिए पछि बिहीबार एक विज्ञप्ति निकाल्दै यस्तो दावी गरिएको हो ।

उनले बिज्ञप्तिमा प्रितम सिंह र उनको परिवारसँग प्रधानमन्त्री दाहालको परिवारको घनिष्ठ सम्बन्ध रहेको व्याख्या गर्दै बचाउमा वक्तव्य निकालेका हुन् ।

आफूलाई सरकारमा पठाउन नेपालमा व्यवसाय गर्दै आएका प्रितम सिंह पटक पटक दिल्ली धाएको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको भनाईलाई बङ्ग्याएर प्रचार गरिएको पनि उनले बताएका छन् ।

उनले संसद्‍बाटै प्रधानमन्त्री निर्वाचित भएकाले त्यहीँ नै जवाफदेही हुने पनि बताएका छन् । गत सोमबार प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली धाएको भनेर दिएको अभिव्यक्तिबारे संसद्‍मा जवाफ दिनै नपाई राजीनामा मागिनु गलत भएको पनि उनले उल्लेख गरेका छन् ।

‘सम्मानित संसदवाट निर्वाचित प्रधानमन्त्री प्रचण्ड सदैव संघीय संसदप्रति जवाफदेही हुनुहुन्छ। संसदमा प्रष्टीकरणको मौकासमेत नदिई उहाँको भनाइको आशयविपरीत एकपक्षीय ढंगले प्रचार प्रसार गरिनु दुर्भाग्यपूर्ण छ’, आचार्यले बिज्ञप्तिमा भनेका छन्, ‘दलगत राजनीति र लोकतान्त्रिक प्रणालीप्रति नै वितृष्णा सिर्जना गर्न विभिन्न कोणबाट भइरहेको हमलाविरुद्ध लोकतन्त्रको रक्षा र सुशासनको प्रत्याभूतिका लागि सरकारले चालेका कामबाट ‘केही हुँदैन’ भन्ने निराशावादी मनोविज्ञानको ठाउँमा ‘गरे हुने रहेछ’ भन्ने आसलाग्दो वातावरण सिर्जना भइरहेको बेला प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय रहेको कुरा स्पष्ट नै छ।’

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ५ : ०९ बजे