६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

कोशीका मुख्यमन्त्रीले लिए सपथ, असंबैधानिक भन्दै एमाले सर्वोच्चमा



कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख परशुराम खापुङ्गले शुक्रबार प्रदेश प्रमुखको कार्यालय विराटनगरमा शपथ खुवाएका हुन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता थापा बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई प्रदेश प्रमुख खापुङले प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

थापाले सभामुख बाबुराम गौतमसहित ४७ जना सांसदको समर्थनमा दाबी पेस गरेलगत्तै मुख्यमन्त्री बनेका हुन् । ९३ सदस्यीय कोशीमा सरकार निर्माणका लागि ४७ जनाकै समर्थन चाहिन्छ ।

थापाले कांग्रेसका २९, सभामुख गौतमसहित माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सहित ४७ सांसदको हस्ताक्षरमा दाबी पेस गरेका थिए ।

एमालेका ४० र राप्रपाका ६ गरी ४६ जना सांसद विपक्षमा रहेका छन् ।

एमाले सर्वोच्चमा

कोशी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकार गठन प्रक्रिया असंवैधानिक भएको दाबीसहित नेकपा एमालेले सर्वोच्च अदालतमा रिट हालेको छ।

कोशीका सभामुख बाबुराम गौतमले पनि मुख्यमन्त्रीको समर्थनमा हस्ताक्षर गरी कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख परशुराम खापुङको निर्णय खारेज गर्न मागसहित एमालेले सर्वोच्चामा रिट हालेको हो ।

उक्त रिट एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको तर्फबाट प्रमुख सचेतक रेवतीरमण भण्डारीसहितले सर्वोच्चमा दर्ता गराएका हुन् ।

प्रमुख सचेतक भण्डारीले सर्वोच्चमा रिट दर्ताका क्रममा रहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ४ : ३८ बजे