दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आइपुगेका छन् । एक दिने भ्रमणमा आएका लु शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन् ।
यस क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । यसैगरी काठमाडौंमा रहँदा उनले नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट गर्ने समेत दूतावासले जनाएको छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासले अघिल्लो दिन बिहीबार मात्रै लुको भ्रमणका विषयमा औपचारिक जानकारी दिएको थियो ।
अमेरिकन चेम्बर अफ कमर्सका एक सदस्य संस्थासँग भेटघाट गर्ने र नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा सीप प्रदान गर्न उनीहरूले गरेका प्रयासबारे बुझ्ने समेत दूतावासले जनाएको छ ।
लु यसअघि नेपालमा एमसीसी प्रतिनिधि सभाबाट पारित गर्न हुने वा नहुने भन्ने चर्को बहस भएका बेला काठमाडौं आएर नेपाल सरकारका उच्च सरकारी प्रतिनिधिहरूसँग भेटघाट गरेका थिए ।