प्रधानमन्त्री पुष्पकमल दाहालको तस्बिरलाई सम्पादन गरी भारतीय आधार कार्ड, आयकर कार्ड लगायत नक्कली विवरणसहितको तस्बिर सामाजिक सञ्जालमा राखेको आरोपमा केन्द्रीय साइबर ब्युरोले आइतबार बुटवलका एक युवकलाई पक्राउ गरेको छ ।
बुटवल देवीनगरबाट टाइगर रानामगर भनिने शेरबहादुर राना मगरलाई पक्राउ गरेको हो । उनले प्रधानमन्त्री पत्नी सीता दाहालको निधनका बेला समेत लिएर असंवेदनशील पोस्ट गरेका थिए ।
ब्युरोको टोलीले काठमाडौंबाट लोकेसन पत्ता लगाइ इलाका प्रहरी कार्यालय बुटवलबाट दुई जना प्रहरीसहितको सहयोगमा रानालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए ।
आइतबार साँझ पक्राउ परेका रानालाई सोमबार टोलीले काठमाडौं लगेको छ । उनलाई काठमाडौंमै साइबर क्राइम सम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
१९ असारमा मोवाइलमा म्यासेज पठाएर उपसभापति अर्याललाई धम्की दिएको आरोपमा प्रहरीले खोटाङ घर भएका विजय कालीकोटेलाई पक्राउ गरेको हो ।
अर्याललाई मोवाइलमा म्यासेज पठाएर ज्यान मार्ने आशयको धम्की दिएको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।