५ चैत्र २०८१, बुधबार | Wed Mar 19 2025

बञ्चरेडाँडाबासी फेरी आन्दोलनमा, वार की पारको गरिने



काठमाडौं उपत्यकाका १८ वटा नगरपालिकाको फोहोर बिसर्जन गरिने स्थान नुवाकोट र धादिंगको सिमामा पर्ने बञ्चरेडाँडाबासी फेरी आन्दोलनमा उत्रिएका छन् ।

सोमबारदेखि स्थानीय स्थानीय तहका जनप्रतिनिधिसमेत मिलेर काठमाडौंबाट फोहोर लिएर गएका गाडीहरुलाई फिर्ता गरिएको छ ।

मंगलबार पनि स्थानीयले अवरोध गरेपछि फोहोर लिएर गएका गाडीहरु फिर्ता आएको छ ।

स्थानीयले यसअघि भएका सम्झौताहरु कुनै पनि कार्यान्वयन नभएको भन्दै आन्दोलित भएका हुन् । फोहोर बोकेका गाडी सिसडोलको हिलोमा गाडिएबाट नै काम भएको कि नभएको थाहा हुने ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाईंको भनाइ रहेको छ ।

‘१ करोड ९३ लाखमा बाटोको काम भइरहेको भन्ने सुनिन्छ। तर, गाडी पास हुन सक्दैन। फोहोरका गाडी त्यहीँ फस्छन्,’ बजगाईंले भने, ‘सोमबार राति एउटा जीप फसेर बाटै रोकियो ।’

बञ्चरेडाँडाबासीले फोहोर र मानिससँगै राख्न संभव नभएको भन्दै कि त फोहोर फाल्न छाड्नु पर्ने वा त्यहाँको स्थानीयबासीलाई सारिनु पर्ने माग गरेका छन् ।

यसअघि काकनी गाउँपालिका र धनीवेंसी नगरपालिकाले उपत्यकाबाट फोहोर बोकेर जाने गाडीबाट सानोबाट एक हजार र ठूलोबाट १५ सय रुपैयाँ उठाउने निर्णय गरेको थियो । उक्त रकम उठाउन नपाउने भनेर सर्वोच्चमा मुद्दा परेपछि स्थानीयले फोहोर खसाल्न रोकेका हुन ।

उक्त मुद्दामा सर्वोच्च अदालतले फोहोर बोकेका गाडीलाई अवरोध नगर्न अन्तरिम आदेश दिएको छ ।

स्थानीयले बञ्चरेडाँडालाई केन्द्रमा राखेर १ हजारदेखि १ हजार २ सय मिटर वरपरसम्मको जग्गा अधिग्रहणको शर्त राखेका छन् । त्यो जग्गामा मध्यवर्ती क्षेत्र तय गर्ने र त्यसभित्रका बस्ती खाली गर्नुपर्ने उनीहरूको माग रहेको छ ।

‘त्यसभित्र केही गुठीका जग्गा छन् । तिनलाई क्षतिपूर्ति एउटा विकल्प हुनसक्छ, अरू अधिग्रहण गरेर अहिलेको समस्याको निकास दिनुपर्छ। क्यान्सरजस्ता घातक रोगको कारखानामा मानिस कसरी बस्नू!,’ बजगाईंले भने ।

काठमाडौं उपत्यकाभित्र दैनिक १ हजार १ सय हाराहारी मेट्रिक टन फोहोर उत्सर्जन हुनेगर्छ । ती सबै फोहोर धादिङ, धुनीबेसी–१ मा पर्ने बञ्चरेडाँडामा बिसर्जन हुँदै आइरहेको छ । त्यहाँ सहरी विकास मन्त्रालयले दुई अर्ब बढी लागतमा दीर्घकालीन ल्यान्डफिल साइट बनाएको छ ।

अघिल्लो वर्षको साउनदेखि नै वर्गीकरण गरेर ठोस फोहोर मात्रै व्यवस्थापन गर्ने भनिएकामा महानगरले कार्यान्वयनमा ल्याउन सकेको छैन । त्यसो हुँदा बञ्चरेडाँडा दीर्घकालीन ल्यान्डफिल साइटको आयु घटेको विज्ञहरूले बताएका छन् ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ३ : ४९ बजे