५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

एनआरएनए आईसीसी पदमा छत्र गुरुङको उमेद्वारी



महिला अधिकारर्मी छत्र गुरुङले २०२३ २०२५ कार्यकालको लागि एनआरएनए आईसीसी सदस्य उम्मेदवारी दिएकी छन् । आफ्नो कार्य क्षमता र अनुभवको आधारमा एनआरएनएलाई हामी सबैको बनाउदै पारदर्शी, समावेशी र विश्वासनीय बनाउनका लागि एनआरएनए आइसिसिको सदस्य पदमा उम्मेदवारी दिएको बताएकी छन् । एनआरएनए आईसीसी यूएसएको निर्वाचन यही जुलाई २२ र २३ तारिखमा हुँदैछ त्यसै दिन एनआरएनए आईसीसी सदस्यका लागि समेत भोट गर्न सकिने छ ।

बिगत १२ बर्ष देखि एनआरएनए एनसिसि अमेरिकासँग आबद्ध रही २०१५–२०१७ मा वीमेन इम्पावरमेन्ट कमिटी, २०१७ –२०१९ मा विधान कमिटीको सदस्य, २०१९– २०२१ मा बोर्ड अफ डाइरेक्टरमा निर्वाचित भएपछि नागरिता तथा अध्यागमन कमिटीको अध्यक्ष तथा बिधान कमिटीको सदस्य रहेर काम गरिसकेकी गुरुङ सामाजिक सेवा समतामूलक समाज निर्माणमा प्रतिबद्ध रहेर लागेकी छन् ।

मानव अधिकार तथा कानुनी क्षेत्रमा लामो समय काम गरिसकेकी गुरुङले गैरआवासीय संघ एनआरएनलाई सवल, सक्षम र समावेशी बनाएर लैजानको लागि आफुले उमेद्वारी दिएको बताएकी छन् । गएको १५ वर्षदेखि न्यूह्याम्सायरमा बस्दै आएकी गुरुङले न्यूह्याम्सायर नेपाली साहित्य समाज, न्यूह्याम्सायर पीलिङ समदाय (एनएचएनसी), गुरुङ सोसाइटी अफ न्यूह्याम्सायरको सल्लाहकार सल्लाहकार, सिटीको निर्वाचित बजेट कमिटी सदस्य, एभरेष्ट लायन्स क्लब न्युह्याम्प्सायर च्याप्टर, नेपाली कम्युनिटी, आइएनएलएस न्यूह्याम्सायर च्याप्टरलगायत विभिन्न सामुदायिक संस्थाको विभिन्न पदमा रहेर काम गरिसकेकी छन् ।

नेपालमा रहँदा लामो समय कानुन व्यवसायीको रुपमा काम गरेकी गुरुङ अन्तरिम संविधान २०६३ का मस्यौदाकार समेत हुन् । आदिवासी जनजाति महिला कानुनी सचेतना समूहका संस्थापक अध्यक्ष तथा कानुनी सहयोग तथा परामर्श केन्द्रको उपाध्यक्षको रुपमा समेत काम गरेकी गुरुङसँग महिला अधिकार तथा सामाजिक क्षेत्रमा ३२ बर्षभन्दा लामो समय काम गरिसकेको अनुभव छ । सर्वोच्च अदालतमा समेत कानुन व्यवसायीको रुपमा काम गरेकी छत्र गुरुङले कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनको निर्वाचित केन्द्रिय सदस्यको रुपमा काम गरेकी छन् । गुरुङले सामाजिक न्याय, सक्षम, सवल र समावेशी नेतृत्वको लागि महिला सहभागितालाई प्राथमिकता दिनुपर्ने बताउँदै आफु समावेशी र सामाजिक न्यायको लागि प्रतिवद्ध रहेको बताएकी छन् ।
अमेरिकामा बसोबास गर्ने सम्पूर्ण गैरआवासीय नेपाली दाजु–भाइर्, दिदी–बहिनी, आजीवन सदस्य तथा साधारण सदस्यहरुलाई सहयोग एवं समर्थन गरी एक पटक फेरी काम गर्ने अवसर दिनको लागि गुरुङले अनुरोध गरेकी छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  २ : २४ बजे