समाजसेवी भद्रकुमारी घलेले सञ्चालन गर्दै आएको सेवा सदनका संरचनाहरु काठमाडौं महानगरले भत्काएको छ । काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेका ती संरचनाहरु अबैध रहेको भन्दै भत्काउन थालेको हो ।
बुधबार दिउँसो ठूलो संख्यामा नगर प्रहरीको टोलीले खटिएर भद्रकुमारी घले सेवा सदनका भवनहरुमा डोजर चलाएको हो ।
उक्त भवनहरु खोलाको प्रभाव क्षेत्रभित्र भने पर्दैन । त्यहाँ गरिब तथा असहाय बालबच्चाहरुलाई पढाउने एउटा स्कूल, बृद्धाश्रम, शिशु स्याहार केन्द्र, बौद्ध गुम्बा, भजन गाउने स्थानलगायत छन् । त्यही भवनमा भद्रकुमारी घलेका पेन्टिङहरुको संग्रहालय, पुस्तकालयलगायत रहेको छ ।
भद्रकुमारी घले सेवा सदन सार्वजनिक जग्गामा निर्माण भएको भन्दै महानगरले तीन दिनअघि नै उक्त भवन खाली गराउन निर्देशन दिएको थयो ।
सदनकी सञ्चालक ९३ वर्षीया घलेले भने आफू गलत नरहेको बि. सं. २०२२ सालमा राज महेन्द्रले उक्त सदन चलाउनका लागि जग्गा दिएको र केही जग्गाको आफ्नो नाममा पूर्जा भएको र बाँकीलाई छुटमा दर्ता गराउने प्रकृयामा रहेको बताएकी छन् ।
पञ्चायतकालमा राष्ट्रिय पञ्चायत सदस्य तथा सहायक मन्त्रीसमेत रहेकी घलेले आफ्ना सबै सम्पति सदनको नाममा राखेर समाजसेवा गर्दै आएकी थिइन् । त्यहाँको स्कूलमा ४७ जना दुर्गम क्षेत्रका गरिब बिद्यार्थीहरुलाई निशुल्क आवासीय शिक्षा दिइरहेको थियो ।