४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

बुढीगण्डकी जलविद्युत् आयोजना छिट्टै निर्माण प्रक्रियामा जाने प्रधानमन्त्री दाहालको भनाई



प्रधानमन्त्री पुष्पकमल दाहालले बुढीगण्डकी जलविद्युत् आयोजना छिट्टै निर्माण प्रक्रियामा जाने बताएका छन् । गण्डकी गाउँपालिका–८ घ्याल्चोकस्थित सिउरेनटारमा बुधबार बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै दाहालले केही समयभित्रै आयोजना निर्माणका लागि शिलान्यास गर्ने बताए ।

‘निर्माण प्रक्रियाका लागि शिलान्यास गर्न म आफैं आउने कमिटमेन्ट गरेको छु, हरहालतमा निर्माण प्रक्रियामा जान्छ,’ उनले भने, ‘पहिलेजस्तो उद्घाटन शिलान्यास हुने तर काम नहुने भन्ने चिन्ता थियो हिजो उर्जा मन्त्रालयमा पर्याप्त छलफल गरेका छौं, यही पटक निर्माण प्रक्रियाको शिलान्यास र प्रक्रिया अघि बढ्छ भन्ने विश्वासका साथ उपस्थिति भएको छु ।’

क्याबिनेटका सहयात्रीले पनि यो संकल्प लिएको उनले जनाए । ‘यो फिल्ड कार्यालय उद्घाटनका लागि मात्र आएको होइन, आवश्यक पर्ने सबै गृहकार्य गरेर यो परियोजना अघि बढाउने संकल्प उर्जा मन्त्रालयको मात्र होइन अर्थदेखि अन्य समन्वय र सहकार्य आवश्यक पर्ने कार्यालयसहित आएका छौं ।’

बुढीगण्डकी जलविद्युत् आयोजना महँगो भए पनि बहुउद्देश्यीय परियोजना भएकाले अन्य उद्देश्यबाट नाफामूलक परियोजना बन्ने दाहालले बताए । ‘विद्युत् उत्पादनको कुरामात्र होइन, म त्यस पालन, पर्यटन, सिँचाइ तमाम कुरा जोड्दा बहुउद्देश्यीय दीर्घकालीन महत्वको हुन सक्छ, यही निष्कर्षका साथ उपस्थिति भएका छौं,’ उनले भने ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ६ : ०७ बजे