२६ मंसिर २०८१, बुधबार | Wed Dec 11 2024

एनआरएनए युएसएको उपाध्यक्ष पदमा सुन्दरी गुरुङको उमेद्वारी



महिला अधिकारर्मी सुन्दरी गुरुङले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२३–२०२५ कार्यकालको लागि एनआरएनए एनसीसी उपाध्यक्ष पदमा उम्मेद्वारी दिएकी छन् । एनआरएनए एनसीसी अमेरिकाको महिला संयोजक रहेकी गुरुङले एनसीसी उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी हुन् ।

गुरुङले महिला शशक्तिकरण, महिला नेतृत्व र शिक्षामा महिलाको पहुँच बढाउनका लागि आफुले उमेद्धारी दिएको बताएकी छन् ।

गुरुङले आर्थिक रुपमा विपन्न तथा पारिवारिक रुपमा समस्यामा परेका बालबालिकाहरुलाई शैक्षिक छात्रवृद्धि मार्फत नेपाली अमेरिकीलाई मातृभूमी नेपालसँग जोड्ने, नेपाली अमेरिकीहरुको तथ्यांक संकलन गर्ने, महिला शशक्तिकरण, नेतृत्व विकास तथा हिंसा पिडित महिलाको लागि काम गर्ने योजना अघि सारेकी छन् ।

नेपालमा रहँदा गुरुङले नारी सहयोग बचत तथा ऋण सहकारी संस्थामा संस्थापक अध्यक्ष, महिला विकास अधिकृतको रुपमा काम गरेको अनुभवको आधारमा एनआरएनएलाई सबै तह र तप्काका महिलाको साझा थलोको रुपमा स्थापित गर्ने छु उनले भनिन् ।

नेपाली अमेरिकी महिलाहरुको लागि आर्थिक र सामाजिक रुपान्तरण र महिला विकासमा जोड दिदै अन्तर्राष्ट्रिय महिला सञ्जाल गठन गरी महिलाको आर्थिक, सामाजिक स्तरमा विकास र नेतृत्वदायी भुमिकाको महिलाको सहभागिता बढाउनका लागि अन्तर्राष्ट्रिय महिला सम्मेलन गर्ने मुख्य योजना रहेको सुनाइन् ।

एनआरएनमा आफुले महिला र युवाको सहभागिता मुख्य मुद्धाको रुपमा उठाउने गरेको र महिलाको आवाजलाई सुनुवाई गराउने, महिलालाई समावेशी गर्दै सहभागिता गराउनु आजको आवश्यकता रहेको गुरुङको भनाइ छ । गुरुङले राजनीतिक बिभाजनलाई त्यागेर एनआरएनएको नेतृत्वमा स्थानीय संघसंस्थाहरु, नेपाली समाजसँग हातेमालो गरेर काम गर्ने र महिलाको उल्लेखनीय सहभागिताको लागि सेतुको रुपमा काम गर्ने बताउँदै एक पटक काम गर्ने अजसर दिनको लागि सबैलाई अनुरोध गरेकी छन् । राज्य स्तरमा रहेका च्याप्टरका महिला संयोजकहरुको संयोजनमा महिलाको संजालको विकास गरी महिला शशक्तिकरणमा समन्वय गर्दै आफु अघि बढ्ने उनको योजना छ ।

गैरआवासीय नेपाली संघको आजीवन सदस्य रहेकी गुरुङले आरएनए एनसीसी अमेरिकाको न्यूह्याम्सायर च्याप्टरको महिला संयोजक र उपाध्यक्ष तथा एनआएएन एसीसीको महिला संयोजकको रुपमा रही ३ कार्यकाल काम गरिसकेकी छन् । साथै, गुरुङसँग एनआरएनए एनसीसी अमेरिकाको महिला शशक्तिकरण कार्यदलमा कोचेयरको रुपमा काम गरेको अनुभव छ ।

भोजपुरमा जन्मेकी गुरुङले नेपाल सरकारको महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मंत्रालय अन्तर्गत महिला बिकास कार्यालय प्रमुख तथा महिला विकास अधिकृतका रुपमा विभिन्न जिल्लामा १५ बर्ष बढी काम गरिसकेकी छन् । काठमाण्डौको शंकर देव र महेन्द्र रत्न ताहाचलबाट ग्राजुयट तथा त्रिचन्द कलेजबाट समाजशास्त्रमा एमए गरेकी गुरुङसँग महिलाको नेतृत्वदायी क्षमता अभिवृद्धि, महिलाको आर्थिक सवलीकरण, शिक्षा, महिला शशक्तिकरण, महिला स्वास्थ्य, रोजगारीमा महिलाको पहुँच लगायतका क्षेत्रमा २० बर्ष बढी काम गरेको अनुभव छ ।

गुरुङले विभिन्न सामाजिक संघ–संस्थाहरु, नेपाली समाज, साहित्य समाज, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना लगायत संस्थाको पदमा रहेर नेपाली भाषा कक्षा, कला संस्कृति सम्बर्धन र प्रवर्धनका तथा अमेरिकी सेन्सस २०२० टाक्सफोर्ड कोअरडिनेटर, कोभिड १९ टाक्सफोर्स सदस्यको रुपमा समेत काम गरेकी छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  ६ : ०४ बजे