प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि खनिएका छन् । उनले सय किलो सुन पक्राउ सम्बन्धमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गर्दै गृहमन्त्री श्रेष्ठलाई ‘बद्तमिज र गैरजिम्मेवार’ भनेका हुन् ।
कम्बोडिया भ्रमणबाट फर्केका अध्यक्ष ओलीले सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री श्रेष्ठले दिएको अभिव्यक्ति र उनको कार्यशैलीमाथि प्रश्न उठाएका हुन् ।
‘नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ । उहाँले एयरपोर्टमा सेक्युरिटी बन्दोबस्त गर्नु भएको छ कि छैन ? एयरपोर्टमा सक्युरिटी गर्ने काम उहाँको हो कि होइन ? यहाँको आउने जानेहरुको निरीक्षण गर्ने काम उहाँको हो कि होइन ?’ ओलीले भने, ‘अनि क्विन्टलका क्विन्टलका सुन बाहिर जान्छ गृहमन्त्री ‘कोट’को गाला र ‘टार’को गालामा काँक्राको बियाँ टाँस्दै हुनुहुन्छ । यो अत्यन्तै अनैतिक क्रियाकलाप हो । गृहमन्त्रीको क्रियाकलाप गैरजिम्मेवार छ । आफू गृहमन्त्री भएर यस्ता खालका गैरजिम्मेवार कुरा गरेर हिँड्ने ?’
गृहमन्त्री श्रेष्ठले सुन पक्राउ परेपछि विमानस्थल भन्सार र अध्यागमनको निरीक्षण गर्ने क्रममा बालुवाटार र बालकोटप्रति संकेत गर्दै कुनै पनि ‘टार, कोट र पार्टी’ ले पनि यसको छानबिनमा रोक्न नसक्ने बताएका थिए । गृहमन्त्री श्रेष्ठको त्यही अभिव्यक्तिप्रति संकेत गर्दै अध्यक्ष ओलीले यत्रो घटना हुँदा गृहमन्त्रीको भूमिका के थियो त्यसमाथि नै शंका भएको बताए ।