२६ मंसिर २०८१, बुधबार | Thu Dec 12 2024

कीर्तिमानी आरोहीहरुलाई विमानस्थलमा भब्य स्वागत



विश्वका ८ हजार मिटर भन्दा अग्ला १४ वटै हिमाल ९२ दिनमा आरोहण गरेर विश्वकीर्तिमान कायम गरेका आरोहीहरु नर्वेकी क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जिङ शेर्पा (लामा) लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ ।

साथै सबैभन्दा कान्छो उमेरमा विश्वको दोस्रो अग्लो हिमाल केटुको सफल आरोहण गरेका निमा रिन्जी शेर्पाको पनि स्वागत गरिएको छ । उनले १७ वर्षको उमेरमा आरोहणका लागि गाह्रो मानिने केटुको सफल आरोहण गरेका हुन् ।

हरिला र शेर्पाले यही साउन ११ गते विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेर हालसम्मकै छोटो अवधीमा विश्वका सबैभ्नाद अग्ला १४ चुचुरा चुमेको कीर्तिमान कायम गरेका हुन् । यसअघि यो कीर्तिमा सात महिनामा १४ वटै हिमाल आरोहण गरेर नेपाली मूलका बेलायती आरोही निर्मल पूर्जाले राखेका थिए ।

विमानस्थलमा स्वागत गरेर नेपाल पर्यटन वोर्डको सभाकक्षमा पुगेर गरिएको कार्यक्रममा नेपाल पर्वतारोहण संघले हरिला तेन्जिङ र निमालाई र रजत पदक तथा सम्मानपत्र दिएर सम्मान गरिएको थियो भने मुक्तु शेर्पा आङदावा शेर्पा ङिमा दोर्जी शेर्पा र पेछुम्वे शेर्पालाई प्रशंसापत्र प्रदान गरिएको थियो । मुक्तु आङदावा ङिमा र पेछुम्वे केटुको सफल आरोहण गर्ने एकै बाबुआमाका सन्तान हुन् ।

पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपालल पर्वतारोहण संघ लगायत विभन्नि पर्यटनसँग सम्बन्धित संघसंस्था एवं आरोहीहरु विमानस्थलमा सांस्कृतिक बाजागाजासहित स्वागतका लागि पुगेका थिए । हरिला र शेर्पाले सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, धौलागिरी, अन्नपूर्ण, मनास्लु, चोयु, शिशपाङ्मा, नङ्गा पर्वत, गाशरब्रम–२, गाशरब्रम–१, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गरिसकेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ५ : ५० बजे