नेपाली आदिवासी जनजातिहरुले २९ औं विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरेर मनाएका छन् । नेपाल आदिवासी जनजाति महासंघको संयोजनमा विभिन्न सघसंस्थाहरुले यस अवसरमा सातव्यापी विविध कार्यक्रमहरु गरेका हुन् ।
यही क्रममा बुधबार आदिवासी जनजाति आयोग र नेपाल आदिवासी जनजाति महासंघले छुट्टछुट्टै कार्यक्रमको आयोजना गर्यो । विहान आयोगले कार्यक्र गरेको थियो भने महासंघले दिउँसो कार्यक्रमको आयोजना गरेको थियो ।
महासंघको कार्यक्रमस्थल प्रज्ञा भवन पुग्नुअघि आदिवासी जनजाति समुदायका संघसंस्थाहरुले झाकीको प्रदर्शन गरेका थिए । भृकुटी मण्डपबाट सुरु भएको झाकी प्रज्ञा भवनमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएका प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश १ को नाम किरात राख्न आफूले अझै कोसिस गर्ने बताए । प्रदशे नम्बर १ को नाम कोशी राखिएपछि त्यहाँका आदिवासी जनजातिहरुले विरोध गरिरहेका छन् ।
आफूहरुलाई जनताले पर्याप्त मत नदिँदा किरात नाम कायम हुन नसकेको बताउँदै उनले अब २०८४ को चुनावमा त्यसलाई पूरा गर्ने दाबी गर्दै मत मागे ।
‘कोशीका आन्दोलनकारीसँग वार्ता गरेर रचनात्मक निकास निकाल्ने प्रयास हुन्छ’, उनले भने, ‘अहिलेको आन्दोलनबाट पहिचान आयो भने त ठीकै छ तर २०८४ मा टन्नै मत हाल्दिनु भयो भने त्यहीँ पारित हुन्छ।’
उनले आफूले विगतमा १ नम्बर प्रदेशको नाम किरात प्रदेश हुन्छ र म त्यसको पहल गर्छु पनि भनेको स्वीकारे ।
‘कोशी प्रदेश नामाकरण भइसकेपछि चलेको आन्दोलनबारे आदिवासी जनजातिका प्रतिनिधिले भेट्नु भएको थियो’, उनले भने, ‘आन्दोलनका क्रममा साहदात प्राप्त गर्ने पदम लाजेहाङलाई सहिद घोषणा गराउने र क्षतिपूर्तिको निर्णय पनि मेरै पालामा भएको हो ।’
उनले आफूलाई पहिचान र आन्दोलनको नेता हुनुका नाताले आदिवासीका पक्षमा निर्णय गर्नुपर्छ भन्ने हेक्का रहेको पनि जिकिर गरे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई जनताले पर्याप्त मत नदिँदा देशमा पहिचान स्थापित हुन नसकेको ग्नासो पनि गरे ।
उनले अधिवक्ता भगवती पाण्डेको अभिव्यक्तिले संवेदनशील अवस्था बनाएको बताउँदै त्यसबारे सरकार गम्भीर रहेको उल्लेख गरे ।
पाण्डेको अभिव्यक्तिपछि पैदान भएको असहज परिस्थितिबारे मंगलबार मात्रै गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा अधिकारीसँग गम्भीर छलफल गरेको उनले जानकारी दिए ।