प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले पछिल्लो समय थालेको भ्रष्टाचारविरोधी अभियानमा पार्टीकै नेताहरू परेपनि अनुसन्धानको दायरामा ल्याउन गृहमन्त्रीलाई निर्देशन दिएका छन् ।
आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्री र पदाधिकारीहरूबीचको अनौपचारिक बैठकमा अध्यक्ष समेत रहेका दाहालले आफ्ना नेताहरूको नाम जोडिएकोप्रति चासो राखेका हुन् ।
‘कहिले कृष्णबहादुर महराजी जोडिएको भनेर समाचार आउँछ, कहिले को नेता जोडिएको भनेर प्रचार हुन्छ,’ बैठकमा उनले भने, ‘माओवादीका नामबाट जोडिएका सबैलाई ल्याएर छानबिन गर्नुस् ।’
उनले दोषी देखिए पार्टीका ठूलै नेता भए पनि नछाड्ने चेतावनी दिए । ‘गृहमन्त्रीजी यहीँ हुनुहुन्छ, त्यसरी जोडिनुभएका नेताहरूलाई सीआईबी लगाएर छानबिन गर्नुस् । दोषी भए पार्टीका ठूलै नेता भए पनि छाड्दिँन, जेल जान तयार भएर बस्नू’ बैठकमा प्रधानमन्त्री उनले भने ।
उनले माओवादीबाटै शुद्धिकरणको अभियान सुरु गर्नुपर्ने पनि बताए ।