१० चैत्र २०८१, सोमबार | Mon Mar 24 2025

एनआरएनए अध्यक्ष कुल आचार्यबिरुद्ध दोहोरो नागरिकता र राहदानी लिएको भन्दै उजुरी



एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले एनआरएनए केन्द्रिय अध्यक्ष कुल आचार्यले बेलायती राहदानी हुँदा हुँदै कीर्ते गरि नेपाली राहदानी लिएको प्रमाणसहित परराष्ट्रमा उजुरी दिएका छन् ।

केही दिनअघिमात्र सामाजिक सञ्जालबाटै आचार्यलाई कानूनी कठघरामा ल्याउने चेतावनी दिएका गाहामगरले बिहीबार सवुत प्रमाणसहित परराष्ट्रमा कारवाहीको माग गर्दै उजुरी गरेका हुन् ।

वरिष्ठ अधिवक्ता र प्रहरी प्रशासनको सल्लाह बमोजिम शुरुमा परराष्ट्र मन्त्रालयमा उजुरी गरेको गाहामगरले जनाए । उनले उजुरीको बोधार्थ गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय, कुश्मा पर्वत र नेपाली राजदूतावास, लन्डनलाई पनि दिएका छन् ।

गाहामगरले बुधबार इन्टरपोल नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपालका एसएसपी अनुपम सम्शेर राणालाई भेटेर प्रक्रियाबारे सल्लाह गरेका थिए ।

विगत केही समय देखि संयुक्त अधिराज्य (यूके) मा बस्ने गैरआवासीय नेपालीहरुले गैरआवासीय नेपाली संघ बेलायतका पूर्व अध्यक्ष कुल आचार्यको नागरिकता एवं राहदानीको विषयमा व्यापक चासो व्यक्त गरिरहेको र आफूलाई संघका २० हजार ७०७ पञ्जीकृत सदस्यहरुले यस विषयमा छानविनका लागि उजुर गर्न दवाव र सल्लाह दिए बमोजिम गैरआवासीय नेपाली संघ बेलायतको वर्तमान अध्यक्षको हैसियतले उजुरी गरेको उनले बताएका छन् ।

‘हामी बेलायतजस्तो सभ्य समाजमा रहेर मातृभूमिका लागि केही रचनात्मक कामसहित ज्ञान सीप र पूंजी हस्तान्तरण गर्न कटिवद्ध हुनुपर्नेमा निज आचार्यले झन् उल्टो गैर कानूनी काम गरेर नेपाल र नेपालीकै इज्जतमाथि आँच पुर्‍याउनुभएपछि म यो उजुरी गर्न वाध्य भएँ’, उनको उजुरीपत्रमा छ ।

बेलायती राहदानी साथमा हुँदा हुँदै बेलायतका लागि तत्कालिन नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले आचार्यलाई सन् २०१४ मा नेपाली राहदानी बनाइदिएको गाहामगरले जिकिर गरेका छन् ।

सन् २०१४ जुलाई ०६ गते २४१८१६१ नम्बरको नेपाली राहदानी नवीकरण गरेर हाल आचार्यसँग ०७५८५०३९ नम्बरको नेपाली राहदानी र बेलायती पनि साथमा छ ।

गैरआवासीय नेपाली संघ केन्द्रका वर्तमान अध्यक्ष र बेलायतका पूर्व अध्यक्ष कुल आचार्य सन् २००२ मा गैर कानूनी माध्यमबाट जर्मनी हुँदै बेलायत प्रवेश गरि सन् २००६ मा बेलायतको नागरिकको हैसियतले पहिलो पटक बेलायती राहदानी लिएको र तत् पश्चात सन् २०१२ र २०२२ मा बेलायती राहदानी नवीकरण गरेको गाहामगरको उजुरीमा छ ।

आचार्यको हालको राहदानी २७ सेप्टेम्बर २०२२ मा जारी भएको छ र उक्त राहदानी सन् २०३२ सेप्टेम्बर २७ सम्म बहाल हुने देखिन्छ । निजको हालको राहदानी नं. १२४७६११४० हो ।

आचार्य बेलायत गएपछि उनले नेपालको समेत राहदानी लिएको बताइएको छ । उनले नेपालको राहदानी (२४१८१६१) लिएको रेकर्डमा देखिन्छ भने उक्त राहदानी सन् २००४ डिसेम्बर १० सम्म बहाल थियो । उक्त राहदानी सन् २०१४ जुलाई ०६ गते नवीकरण गरेर हाल निजसंग राहदानी नं. ०७५८५०३९ साथमा छ ।

नेपालको प्रचलित नेपाल नागरिकता ऐन २०६३ को दफा १० को उपदफा (१) मा नेपालको कुनै नागरिकले आफूखुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन र दफा (१३) मा कसैले पनि एकभन्दा बढी नागरिकताको प्रमाणपत्र लिन हुँदैन र वर्जित कार्य गरेमा दफा २१ बमोजिम समय हुने भन्ने उल्लेख छ ।

त्यसैगरी राहदानी ऐन २०७६ को दफा २१ बमोजिम झुट्टा विवरण दिई राहदानी वा यात्रा अनुमतिपत्र लिएमा वा लिन प्रयत्न गरेमा कसूर गरेको मानिने व्यवस्था छ र त्यस्तो कार्य गर्नेलाई दफा २२ बमोजिम तोकिएको सजाय समेत हुन्छ ।

‘निज कुल आचार्य सन् २००२ मा गैरकानूनी माध्यमबाट जर्मनी हुँदै बेलायत प्रवेश गर्नु भएको थियो । उहाँ सन् २००२ मा विदेश जाँदा भूटानी शरणार्थीको हैसियतमा जानु भयो । निजको राहदानी नवीकरणको निवेदन विवरण हेर्दा मिति २०४६।०२।२३ मा ५११४७५७ नं. को नेपाली नागरिकता जिल्ला प्रशासन कार्यालयबाट लिएको पुष्टि हुन्छ’- उजुरीमा भनिएको छ ।

कुल आचार्यले सन् २००२ मा बेलायत प्रवेश गरेपछि सन् २००६ मा पहिलोपटक बेलायती राहदानी लिएको रेकर्ड छ । उक्त राहदानी सन् २०१२ सम्म बहाल थियो । सो राहदानीको म्याद सकिएपछि उनले पुनः नवीकरण गरे । अहिले उनीसंग १२४७६११४० नम्बरको बेलायती रातो पासपोर्ट पनि छ ।

सन् २०१२ देखि २०२२ सम्म बेलायतको नागरिकको हैसियतले लिएको राहदानी बहाल रहेको वखत नेपाली नागरिकको हैसियतले झुट्टा विवरण व्यहोरा पेश गरी सन् २०१४ मा लन्डनबाट आवेदन दिई नेपालको राहदानी लिएको देखिएको भन्दै यस विषयमा छानविन गरी आचार्यलाई प्रचलित नेपाल कानून बमोजिम कारवाही गरी पाउन अनुरोधसहित गाहामगरले उजुरी गरेका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  १ : १८ बजे